Logo

बागमती पेज

आश्विन २८, २०७९ शुक्रबार

खानेपानीमा आत्मनिर्भर बन्ने बूढानीलकण्ठ-२ को तयारी


काठमाडौँ । काठमाडौँ उपत्यका भित्रका धेरै ठाउँमा खानेपानीको समस्या विगतदेखि नै रहेको छ । हाल पनि यस्ता समस्या काठमाडौँवासीले भोग्दै आएका छन् । तर बूढानीलकण्ठ नगरपालिका वडा नं २ ले आफ्नै मुहानबाट खानेपानीमा आत्मनिर्भर बन्ने तयारी गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले वडाका प्रत्येक घरधुरीमा स्वस्छ खानेपानी पुर्याउने योजना रहेको बताएका छन् । वडामा खानेपनीको समस्या भएका कारण सर्वप्रथम पानीको समस्या समाधान गर्ने योजना रहेको बताए ।

वडामा २२ सय ५३ घरधुरी भएपनि अहिलेसम्म स्वस्छ खानेपनीको व्यवस्था १७ सय घर धुरीमा मात्र भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

वर्षाको समयमा खानेपानीको अलि सहज भएतापनि हिउँद याममा भने अझ कम घरधुरीले मात्र पानी पिउँदै पाएका छन् । त्यसैले वडाभित्र तत्काल खानेपानीको समस्या समाधान गर्नुपर्ने भएको हो ।

अध्यक्ष श्रेष्ठका अनुसार, वडामा रहेको धोवीढुंगा खानेपानी मुहान र वर्खा याममा परेको पानी सञ्चय गरी सुख्खा याममा पानीको समस्याबाट मुक्त गराउने वडाको योजना रहेको छ ।

उनले भने, “धोवीढुंगा खानेपानी मुहान र वर्षाको समयमा पर्ने पानीलाई मुहानको छेउमा रहेको जमिनमा सञ्चय गरी वर्षा र सुख्खा याम दुबैलाई हुनेगरी सबै घरधुरीलाई स्वच्छ पानी खुवाउने लक्ष्य छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार सम्म पुगेर बजेटको व्यवस्था हामी गर्नेछौं ।”

हाल वडामा एउटा ३ लाख लिटरको र अर्को साँडे ५ लाख लिटरको ट्याङ्कीमा पानी जम्मा भइरहेको छ । ट्याङकीबाट खेर जाने पानीलाई समेत लिफ्टिङ गरेर पानी सञ्चय गरिएको छ ।

बूनपा–२ मा मेलम्चीको पानी नआउने वडाध्यक्ष श्रेष्ठको भनाई छ । वडामा भएका पानीका मुहानलाई व्यवस्थित तरिकाले प्रयोग गर्दा वडा आफैमा खानेपानीमा आत्मानिर्भर हुने उनले बताए ।

पानीका लागि विभिन्न अनुसन्धान गरिरहेको बताउँदै वडाध्यक्ष श्रेष्ठले चुनावी प्रतिबद्धता अनुुसार प्रत्येक घरधुरीलाई स्वच्छ पानी सहितको धारा उपलब्ध गराउन आफू निरन्तर लागि पर्ने र स्थानीयवासीलाई निराश हुन नदिने समेत दावी गरे ।