Logo

बागमती पेज

कार्तिक १, २०७९ मंगलबार

फेरिँदै राउटेको जीवनशैली, जोखिममा सभ्यता


काठमाडौँ । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको छ ।

दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिको रुपमा रहेका राउटे नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको दैलेख, सुर्खेत, दाङ, सल्यान, अछाम, कालीकोट, जाजरकोटलगायत जिल्लामा डुलिरहने जाति हो । दुई/तीन दशक पहिलेसम्म घना जङ्गलले भरिभराउ यो क्षेत्र राउटेका लागि सुरक्षित बासस्थान थियो । तर, पछिल्लो समय विकास, सहरीकरण तथा आधुनिकीकरणको बढ्दो प्रभावले अवस्था फेरिएको छ ।

विसं २०७८ को जनगणना अनुसार हाल यो समुदायमा कूल ४६ घरधुरी छन् भने जम्मा राउटेहरूको सङ्ख्या एक सय ४३ छ । बाँदरको सिकार तथा जङ्गली फलफूल सङ्कलन गर्दै जीवननिर्वाह गर्न कठिनाइ भएपछि राउटेहरूले काठका भाँडाकुँडा बनाएर स्थानीय मानिससँग अन्नसँग साट्न थालेको झण्डै एक शताब्दी भएको अनुमान छ ।

कुनै दिन ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे आजभोलि अन्नसँग सागम्री साट्नभन्दा पैसामा साट्न सजिलो मान्न थालेका छन् । उनीहरु आजभोलि चाहीँ तस्वीर खिचेकोसमेत पैसा माग्न थालेका छन् । बाँदरको सङ्ख्या घट्दै जानु, सामुदायिक वनमा रुख सजिलै काट्न नपाउनु तथा विभिन्न सङ्घ संस्थाको प्रभाव राउटे समुदायमा बढ्नाले राउटे विस्तारै परर्निभर बन्दै गएका छन् ।

सरकारले प्रदान गर्ने भत्ताको आस र अन्य व्यक्ति तथा संस्थाको सहयोगको अपेक्षा गर्ने परम्पराका रूपमा स्थापित हुँदै गएको छ ।

आफ्नो खुट्टाको साइज र जुत्ताचप्पलको साइजमा खासै सचेत भएको पाइँदैन । तथापि पछिल्लो पुस्ताले जुत्ता चप्पल लगाउन थालेको छ । औपचारिक शिक्षा लिएपछि राउटेलाई आफ्नो संस्कृति मासिने डर छ । विभिन्न गैरसरकारी संस्थाको बढ्दो प्रभावले राउटेहरूलाई स्थायी हुन बाध्य बनाइरहेको छ तर भ्रमणशील राउटे स्थायी रुपमा बस्न खोजिरहेका छैनन् ।‘किताब छोए ईश्वर रिसाउँछ’ भन्ने धारणामा विस्तारै परिर्वतन आइरहेको छ ।

अहिले राउटेले मोबाइल फोन प्रयोग गर्न थालेका छन् । खैनी र चुरोटका अम्मली राउटे समुदाय अचेल मदिरामोहमा फसेको छ । पाँच वर्षदेखि ८० वर्षसम्मका सबै राउटेले रक्सी पिउने गर्छन् । कमाएको तथा अरुबाट पाएको सहयोगलाई राउटेले मदिरा पिउनमा खर्च गरेको पाइन्छ । अत्यधिक रक्सी सेवनले राउटेको दिनचर्या नै सङ्कटमा फसेको देखिन्छ ।

बिरलै सरसफाइ गर्ने राउटेले खरानीपानीले लुगा धुने गर्थे । ढुङ्गाले शरीरको मैलो घोटेर फाल्थे । विगत भत्कियो, राउटेहरू आजभोलि साबुनको प्रयोग गर्न रुचाउँछन् । बसुलोले दारी काट्ने राउटे हिजोआज ब्लेडले काट्छन् । फुटेकै भए पनि ऐना हेर्ने बानीको विकास भएको देखिन्छ । विगतमा काठका भाँडाकुँडा अन्नसँग साटेर जीविका धान्न रुचाउने राउटेहरू अहिले पैसामै ती सामग्री साटफेर गर्न रुचाउँछन् । पैसालाई बोक्न सजिलो, आफूलाई चाहिने चीज किन्न सजिलो हुनाले राउटे अन्नभन्दा पैसालाई सजिलो माध्यम ठान्छन् । अरुको त्यसै मागेर नखाने जाति भनेर चिनिने राउटे आजभोलि सबैभन्दा धेरै माग्न आउँछ । झारफुक तथा जडीबुटीमा विश्वास गर्ने राउटे आजभोलि डाक्टरको विश्वास गर्छन् । केही वर्षअघिसम्म मोटरगाडीदेखि डराउने राउटे काम विशेष कतै जानुपर्‍यो भने गाडी चढ्न रुचाउँछन् ।

आफ्नै श्रममा बाँच्ने राउटेलाई आजभोलि कहिल्यै नपुग्ने चीज भत्ता भएको छ । सरकारले प्रत्येक वर्ष राउटेलाई सामाजिक सुरक्षा भत्ता दिन्छ तर भत्ता कम भएको गुनासो राउटेहरू पोखिरहन्छन् ।

लोपोन्मुख राउटे समुदायको महाशत्रु हुन्, स्थायी बसोबास, लेखपढ र खेतीपाती । आफूलाई वनको राजा भन्न रुचाउने र जङ्गलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेको राउटे समुदाय नेपालको नागरिकता नलिए पनि नेपाली नागरिक हौँ भनेर गौरव गर्छ । राउटे बस्ती पुग्ने जोकोहीसँग राउटे बालबालिका र महिला पैसा माग्छन् । घरायसी प्रयोगका सामग्री कोसी, मदुस, पिर्का, बाकस बनाएर बेच्ने पेसा गर्दै आएका राउटे समुदाय परम्परागत पेसालाई सर्वोपरी ठान्ने राउटे समुदायको ‘संस्कृति र जीवनशैली’ फेरिँदै गएको छ ।

राउटे समुदायको युवापुस्ता पनि आधुनिक संस्कृतिबाट प्रभावित हुन थालेको छ । पहिले नयाँ व्यक्ति देख्दा डराउने र बोल्न नचाहने, तस्बीर खिच्न नदिने राउटे जाति महिलालाईसँगै नहिंँडाउने र मुखियाले भनेका सबै कुरा पालना गर्ने गर्थे तर पछिल्लो समय धेरै परिवर्तन भएको छ । रासस