Logo

मेघनाथ पहाडी

कार्तिक २, २०७९ बुधबार

देशप्रेमी स्वतन्त्रहरुले नेतृत्व गर्न आवश्यक छ उम्मेदवार: निरन्जन पुडासैनी


काठमाडौँ । आसन्न निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्यमा निरन्जन पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमाले र कांग्रेसले राम्रोसँग काम नगरेका कारण आफूले उम्मेदवारी दिएको उनले बताएका हुन् ।

मंसिर ४ गते हुँने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा रहेका पुडासैनीले पत्रकार सम्मेलन आयोजना गर्दै २०५४ देखि विभिन्न पदमा रहेका नेकपा एमालेका कृष्ण राई र नेपाली कांग्रेसका सन्तोष चालिसेले बोलेका काम नगरेको आरोप लगाउदै त्यसलाई चिरेर जनताको पक्षमा काम गर्नका लागि आफु उम्मेदवार बनेको बताएका हुन् ।

संस्कृति सम्वर्धन र पूर्वाधार विकासमा काठमाडौँ क्षेत्र नं ३ पछाडी रहेकोमा आफुलाई पछुतो लागेर विकास अभियानको नेतृत्व गर्नका लागि आफुले उम्मेद्वारी दिएको बताउदै पुडासैनीले पत्रकार सम्मेलनमा आफ्ना अवधारणा समेत सार्वजनिक गरेका थिए।

धर्म र राष्ट्रप्रमुखको विषय आम जनताको मत र सहभागितामा मात्र निर्णय हुनुपर्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै उनले काठमाडौँ क्षेत्र नं ३ का धेरै क्षेत्रवासीको संस्कृति संग जोडिएको घरेलु मदिरा उत्पादनलाई कानुनी मापदण्डमा ल्याएर व्यवसायिक उत्पादनका लागि पहल गर्ने आफ्नो योजना रहेको बताए ।

लामो समय देखि बागमती पिडित संघर्ष समितिको नेतृत्वमा रहेर सामाजिक गतिविधिमा सक्रिय रहेका पुडासैनीले बागमती सभ्यताको प्रवर्धन र सम्वर्धनको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने समेत उद्घोष गरे ।

नेपालको राजनीति लोभी–पापीको कब्जामा पर्दा देशले दुख पाएकोले कुनै पनि दर्शन र वादमा लागेका भन्दा देशप्रेमी स्वतन्त्रहरुले राजनीतिको नेतृत्व गर्न आवश्यक छ । त्यसकारण देशव्यापी रुपमा स्वतन्त्र उम्मेदवारलाई जिताउन जनतालाई अपिल गरेका छन् । पुडासैनीले अबको निर्वाचन देश बनाउने र बिगार्ने विचको लडाई रहेको धारणा राखेका छन् ।