Logo

मेघनाथ पहाडी

कार्तिक ५, २०७९ शनिबार

चर्चामा काठमाडौँ-४ : गगन र राजनको दोस्रो चुनावी भिडन्त !


काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रका लागि कांग्रेसबाट थापा एकल सिफारिसमा परेका थिए भने एमालेबाट भट्टराई पनि एकल सिफारिसमा परेका थिए ।

५ वर्षअघि बाम गठबन्धनको तर्फबाट चुनाव लडेका भट्टराई र ‘सिङ्गल’ लडेका थापाबीच यो पटक फरक ढंगले प्रतिस्पर्धा हुँदैछ । माओवादी केन्द्रको सहयोगमा चुनाव लडेका भट्टराई यो पटक एक्लै चुनाव लड्दैछन् भने थापालाई माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले साथ दिँदैछ ।

अघिल्लो चुनावमा गठबन्धन दललाई समेत पराजित गरेका गगनको यो पटक शक्ति बढेको छ भने एमाले समेत फुटेको अवस्थामा भट्टराई कमजोर मान्ने गरिएको छ । यद्यपि गत स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने एमाले र कांग्रेसको बराबरी हैसियत देखिन्छ ।

यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको पनि भीड रहेका कारण स्वतन्त्रले धेरै भोट काटेमा दुई उम्मेदवारहरू मध्ये कसले बाजी मार्छ भन्न नसक्ने अवस्था रहेको छ । प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका थापा र भट्टराई चुनाव जित्नका आन्तरिक रणनीति बनाउन व्यस्त रहेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिव दामोदर भट्टराई (बद्री) ले आसन्न निर्वाचन हामीले आँकलन गर्दा नेपाली कांग्रेसको जनमत राम्रो पाएका छौं । उम्मेदवारलाई तुलनात्मक रुपमा हेर्दापनि गगन थापालेको नेतृत्व र व्यक्तित्वका कारण र विगतमा गरेको विभिन्न कामलाई तपाईँ हामीले मुल्याङ्कन गरेर हेर्दा पनि उहाँप्रतिको भरोसा जनतामाझ छ । तर एमालेका उम्मेदवारलाई कमजोर हामीले मानेका होईनौं ।

क्षेत्र नम्बर ४ प्रदेश २ का निर्वाचन परिचालन समितिका संयोजक एमाले नेता राजन कुमार पोखरेलले निर्वाचन आयोगले तोकेको आचार संहिता पालना गर्दै घरदैलो कार्यक्रमको सुरु गर्न लागेको बताए । पार्टी फुटको कुनै प्रभाव नरहेको बताउँदै उनले एमालेले स्वस्थ किसिमले चुनावमा प्रतिस्पर्धा गर्ने बताए । स्थानीय तहमा कांग्रेस भन्दा धेरै मत ल्याएका कारण प्रतिनिधि सभाको चुनावमा पनि जनताले विजयी गराउने अपेक्षा लिएको उल्लेख गरे ।

उनले भने–‘गत स्थानीय तहमा काठमाडौँ जिल्लाभरिमा नै एमालेले राम्रो मत पाएका थियौँ । क्षेत्र नम्बर ४ को मुख्य स्थान बुढानीलकण्ठ नगरपालिका रहेको छ । स्थानीय चुनावमा पनि यहाँ गठबन्धनका बीच हामीले नगरप्रमुख जितेका थियौँ । अहिले पनि सत्ता गठबन्धन एकातिर भए पनि हाम्रो बलियो संगठन र जनताको हामीप्रतिको विश्वासका कारण हामीलाई जित हासिल गर्न कुनै समस्या पर्नेछैन ।’

कांग्रेस पनि निर्वाचनमा जित हासिल गर्नका लागि आन्तरिक तयारीमा जुटेको छ । सत्ता गठबन्धन दलका विभिन्न स्थानीय सँगठनसँग आन्तरिक छलफलमा जुटेको छ । अघिल्लो निर्वाचनमा भन्दा यो पटक कम चुनौती महसुस गरेको कांग्रेसले छिट्टै घरदैलो अभियान सुरु गर्ने भएको छ ।

यस्तो थियो अघिल्लो निर्वाचनको परिणाम
काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत काठमाडौँ महानगरका ४ वडाहरू पर्छन् । महानगरका १, ७, ८ र ३० वडा, बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा यो निर्वाचन क्षेत्रमा पर्दछ ।

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार राजन भट्टराईलाई कांग्रेसका गगन थापाले पराजित गरेका थिए । थापाले २१ हजार ५५८ मत पाएका थिए भने भट्टराईले १८ हजार १४० मत पाएका थिए ।

यस्तै गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर ४ मा वडाध्यक्षहरूले पाएको मतलाई हेर्ने हो भने एमाले ७४४ मतले अगाडि देखिएको छ । एमालेले १६ हजार ५०७ मत पाएको छ । कांग्रेसले १५ हजार ७६३ मत पाएको थियो ।

यो क्षेत्रमा माओवादी केन्द्र र एकीकृत समाजवादी निकै कमजोर अवस्थामा रहेको छ । एकीकृत समाजवादीले २ हजार ४४४ मत पाएको पाएको थियो । चौथो स्थानमा रहेको राप्रपाले २ हजार २७२ मत पाएको थियो भने माओवादी केन्द्रले ८४४ मत पाएको थियो ।