Logo

बागमती पेज

कार्तिक ६, २०७९ आईतबार

विश्व सम्पदामा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्र बनाउँछौं : मन्त्री श्रेष्ठ


काठमाडौं : सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने सोच अगाडि सारिएको छ ।

त्यसको प्रत्यक्ष लाभ स्थानीय बासिन्दाले पाउने व्यवस्था गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाइने उनको भनाइ छ ।

स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गराउने योजना अनुसार आफ्नो क्षेत्रमा स्थानीय पथप्रदर्शक तालिम तथा होमस्टे तालिमलाई अभियानका रुपमा अघि बढाएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले पर्यटन दशकको अवधारणा अघि बढाएको उल्लेख गर्दै उनले पर्यटन नै नेपालको आर्थिक विकासको दीगो स्रोत भएको र कोभिड– १९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न आफूले ‘पर्यटन दशक २०२३–२०३३’ को अवधारणा अगाडि सारेको बताए ।

निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजना, सांस्कृतिक सम्पदाको पुनःनिर्माण, संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्क निर्माण, सडक पुल, झलुङ्गे पुल तथा आकाशे पुल निर्माण तर्फ अधिकांश चुनावी प्रतिबद्धता पूरा गरेको उनले बताए ।