गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशलाई सुरुङ युगमा प्रवेश गराउने काम एमालेकै सरकारको पालामा सुरु भएको बताएका छन् ।
काठमाडौंको नागढुंगामा एमालेकै पालाबाट सुरुङ निर्माण सुरु भएको बताउँदै उनले बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको डिपिआरको काम पनि एमालेकै पालामा भएको बताए ।
गुल्मी १ का प्रतिनिधिसभाका उम्मेदवार ज्ञवालीले विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै भने, ‘देश अहिले सुरुङ युगमा प्रवेश गरेको छ, यसको आधार एमालेकै सरकारले तयार गरेको हो ।’
ज्ञवालीले तराईमा सशस्त्र संघर्ष गरी हिंसा मच्चाइरहेका समूहलाई पनि एमालेकै सरकार हुँदा देशको मूलधारको शान्तिपूर्ण राजनीतिमा ल्याएको दाबी गरे । ‘तराईमा द्वन्द्व चर्काएका सिके राउत लगायतका समूहलाई शान्तिको बाटोमा ल्याउन सफल भयौंं, यो एमाले नेतृत्वको सरकार हुँदा संभव भएको हो,’ उनले भने ।
नेकपाको नेतृत्वमा साढे तीन वर्ष सरकार चलेको बताउँदै उनले त्यस अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले विकासमा फड्को मारेको उल्लेख गरे । उनले नेकपा नेतृत्वको तीन वर्षको सरकार इतिहासकै सफल सरकारको रुपमा रहेको दाबी गरे । ज्ञवालीले अहिले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा केन्द्रित छन् ।

 
                            

 
            











 
             
             
             
            
प्रतिक्रिया दिनुहोस्