Logo

बागमती पेज

कार्तिक १६, २०७९ बुधबार

दोलखामा गठबन्धन भर्सेस एमाले, कस्ले मार्ला बाजी !


काठमाडौँ । आसन्न मंसिर ४ मा हुने चुनावका लागि दोलखामा नेकपा एमालेबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा बालकृष्ण शिवाकोटी तथा प्रदेशसभा १ मा नरबहादुर श्रेष्ठ र प्रदेशसभा २ मा भरत केसीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै बाम गठबन्धनबाट दोलखामा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका गंगा कार्की (विश्व) र प्रदेश सभा १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले तथा प्रदेशसभा २ मा कांग्रेसकै बर्मा लामा चुनावी मैदानमा रहेका छन् ।

दोलखाको चुनावी इतिहास एमालेको पक्षमा छ । २०५१ सालको मध्यावधि चुनावमा दोलखा–१ मा र २०६४ को संविधान सभा चुनावमा दोलखाका दुवै क्षेत्रमा एमालेले हार व्यहोरेको थियो । त्यसबाहेकका चुनावमा भने दोलखामा एमाले विजयी हुँदै आएको छ ।

तर नेपाली कांग्रेसले भने एमालेका नेताहरुले जिल्लाका लागि केही नगरेको आरोप लगाएको छ । नेपाली कांग्रेसका निवर्तमान सभापति रुद्र खड्काले एमालेले पटक–पटक झुटको खेती गरेको बताए । जनताको आँखामा छारो हाली  एमालेले पटक–पटक चुनाव जितेर पनि दोलखाको विकासमा ठोस योगदान दिन नसकेको खड्काको भनाइ छ ।

यता एमालेका जिल्ला सचिव हिरा थोकर भने दोलखामा अहिलेसम्म भएका विकाश निर्माणका कार्य नै एमालेको चुनाव जित्ने मुख्या आधार भएको बताउँछन् ।

आसन्न निर्वाचनमा एमालेबाट नयाँ अनुहार भएपनि योग्य र क्षमतावान उम्मेदवार प्रतिश्पर्धामा भएका कारण सुर्यको जित हुने ठोकुवा गरे ।

दोलखामा सत्ता गठबन्धन र एमालेविच कडा प्रतिश्पर्धा हुने देखिएको छ । एकतर्फ सत्ता गठबन्धन एमाले इतिहासको किल्ला तोड्नामा लागि परेको छ भने अर्का तर्फ एमाले गठबन्धनलाई ढाल्न च्यालेन्ज गरिरहेको छ । निर्वाचनको केही साता मात्र बाँकी रहँदा दुवै पक्षले घरदैलो अभियानलाई तिब्रता दिइरहेका छन् ।

दोलखाबाट प्रतिनिधि सभामा ७ स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । यी मध्ये कोही पनि अहिलेसम्म सांसद चुनिएका छैनन्, त्यसैले दोलखाबाट प्रतिनिधिसभामा जो निर्वाचित भए पनि नयाँ अनुहार हुनेछन् ।

४ मंसिरमा हुने निर्वाचनमा दोलखाबाट प्रतिनिधिसभामा एक जना र बागमती प्रदेशसभामा दुई जना निर्वाचित हुनेछन् । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा एक्लै उम्मेदवार खडा गरेको छ ।