Logo

भवानी कार्की

कार्तिक २४, २०७९ बिहीबार

एमालेको किल्ला तोड्दै अबको नेतृत्व हामीले लिनेछौं : उम्मेदवार बर्मा लामा


काठमाडौँ । आसन्न मंसिर ४ मा हुने निर्वाचनमा दोलखा बाम लोकतान्त्रिक गठबन्धन प्रदेशसभा २ का उम्मेदवार तथा नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामाले एमालेको ३० बर्षे इतिहासलाई मेटाउने दावी गरेका छन् । घरदैलो अभियानमा भीमेश्वर नगरपालिका–९ मा पुगेका लामाले आगामी निर्वाचनमा गठबन्धनले एमालेको किल्ला तोड्ने बताएका हुन् ।

उम्मेदवार लामाले बागमती पेजसँग कुरा गर्दै घरदैलो अभियानमा सहभागी भइरहँदा जनताले उत्साहजनक ढंगले आफुलाई रुचाएकाले जनताको उत्साह र विश्वासले नै चुनाव जित्ने लक्षण देखिएको बताए । जिल्लामा ३० बर्षदेखी एमालेको नेतृत्व रहँदा जनताको हितका लागि उपलब्धिमूलक केही काम नभएको भन्दै लामाले जनता एमालेबाट दिक्क भइसकेको दावी गरे ।

उनले भने, “जनता दोलखा परिबर्तन भएको हेर्न चाहान्छन् । हिजोका दिनमा एमालेमा मतदान गर्नेले पनि यो पटक एमालेबाट कुनै अपेक्षा नराखी गठबन्धनमा सामेल हुनुभएको छ । यसकारण पनि हामीले चुनाव जित्ने निश्चित छ । निर्वाचन पश्चात जनताले विश्वास गरेर दिएको अमुल्य मतलाई कदर गर्दै दोलखाको समुन्नत विकासमा लाग्नेछु ।”

चुनाव आउन एक साता मात्र बाँकी रहँदा दोलखामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त देखिएका छन् । दोलखाको इतिहासमा नेकपा एमालले चुनाव जित्दै आइरहेको छ । तर गठबन्धनका नेताहरुले भने नेकपा एमालेले अहिलेसम्म देखिने गरी कुनैपनि काम नगरेको र दोलखामा ठोस उपलब्धि नभएको आरोप लगाउँदै आइरहेका छन् ।

निर्वाचन नजिकिएसँगै घरदैलो अभियानलाई तिब्रता दिएका नेता लामाले दोलखाको सडकको स्तर उन्नती गर्ने, दोलखाको पर्यटन क्षेत्रलाई समुन्नत बनाउने, शिक्षा, स्वास्थ्य तथा रोजगारका क्षेत्र लगाएत दोलखाको दिगो विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।