Logo

बागमती पेज

कार्तिक २५, २०७९ शुक्रबार

बंगलादेशलाई हराउँदै साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपालको पोल्टामा


काठमाडौं । गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँदै कप्तानी प्रदर्शन गरेपछि नेपालले साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

डवल राउण्ड रोविन प्रणाली अन्तर्गत सन्चालित प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।चार खेलबाट तीन जित र १ बराबरीको नतिजाबाट नेपाल १० अंक जोडेर शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।

नेपाललाई उपाधि जित्न बराबरी नै पर्याप्त थियो भने बंगलादेशका लागि जित आवश्यक थियो । खेल १-१ को बराबरीमा रहेका बेला बंगलादेशले अन्तिम समयमा पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन र नेपाल भाग्यमानी बन्यो । जहाँ सुजाता नायक बनिन् ।

बीएसएसएसएमके रंगशालामा भएको खेलको १४औं मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा नेपालले अग्रता कायम राख्यो । दोस्रो हाफमा घरेलु टोली बंगलादेशले गोल फर्कायो । बंगलादेशकी कप्तान रुमा अख्तरले ५४औं मिनेटमा गोल गरेकी थिइन् ।

खेलको अन्तिम मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर, बंगलादेशकी जोयनोब बीबी रिताको पेनाल्टी प्रहार कप्तान तथा गोलकिपर सुजाता तामाङले बचाउँदै नेपालको संकट टारिन र ऐतिहासिक उपाधि दिलाइन् ।

नियमित कप्तान दीपा रोकायको स्थानमा सुजाले बंगलादेशविरुद्ध कप्तानी गरेकी हुन् ।नेपाल, बंगलादेश र भुटान गरी तीन टिम मात्र सम्मिलित यस प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो ।

प्रतियोगितामा नेपालले भुटानलाई ७-० र १-० तथा , बंगलादेशलाई १-० ले पराजित गरेको थियो । चारवटै खेल हारेको भुटान भने अंकविहीन हुँदै यसअघि नै घर फर्किसकेको छ ।

नेपालको महिला फुटबल टिमले उमेर समूहमा जितेको यो दोस्रो उपाधि हो । यसअघि सन् २०१४मा श्रीलंकामा भएको यू-१४ रिजन प्रतियोगितामा नेपालको यू-१४ महिला टिमले उपाधि जितेको थियो ।

साफ यू-१५ महिला च्याम्पियनसिपमा भने नेपालको यो पहिलो उपाधि हो । यसअघि तीन संस्करण खेल्दा पछिल्लोपल्ट २०१९ मा बंगलादेशमै भएको तेस्रो संस्करणमा तेस्रो भएको थियो ।