Logo

बागमती पेज

कार्तिक २९, २०७९ मंगलबार

रेखाका ७ प्रतिबद्धता : सुकुम्बासीलाई जग्गादेखि ‘नारीका लागि छोरी’ परियोजनासम्म


काठमाडौँ । मोरङ क्षेत्र नम्बर ३ मा राप्रपाबाट प्रतिनिधिसभा उम्मेदवार एवं अभिनेत्री रेखा थापाले चुनावी प्रतिबद्धता सार्वजनिक गरेकी छन् । भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने प्रतिबद्धता उनको छ । आफ्नो क्षेत्रमा सुकुम्बासीको समस्या भएपनि समाधान नभएको उनको भनाइ छ ।

उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सो समस्या समाधानका लागि स्थानीय तहसँग सहकार्य र सिंहदरबारसँग संघर्ष गर्ने उल्लेख छ ।

रेखाले आफ्नो प्रतिबद्धता पत्रमा हरेक वर्ष उत्पादन वर्ष बनाउने उल्लेख गरेकी छन् । प्रतिबद्धता पत्रमा किसानसँग सरकार अभियान सञ्चालन गर्ने पनि बताएकी छन् । उनले ‘एक क्षेत्र एक उत्पादन, उत्पादनदेखि बजार’ सम्मको पनि ग्यारेन्टीको प्रतिबद्धता जनाएकी छन् ।

उनले मोरङ क्षेत्र नम्बर ३ को गौरवको रूपमा रहेको पूर्वाञ्चल विश्व विद्यालयको सेवा प्रभावकारी बनाउने प्रतिबद्धता रेखाको छ । उनले सेवा प्रभावकारी बनाउन व्यवहारिक तथा नीतिगत पहल गर्ने बताएकी छन् । रेखाले विश्वविद्यालयमा रहेको अस्पतालको सेवा २४ सै घण्टा बनाउने प्रतिबद्धतापत्रमा उल्लेख गरेकी छन् ।

‘युवासँग रेखा’ भन्दै उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा शिक्षा, सीप विकास, उद्यमशिलता, रोजगारी र आत्मनिर्भरका लागि आफूलाई मत दिन आव्हान गरेकी छन् ।

रेखाले कक्षा १२ सम्म निःशुल्क गुणस्तर शिक्षासहित, यसरी पढौँ अभियान सञ्चालन गर्ने, हरेक नारीलाई चूल्होबाट निकालेर क्षमता अनुसारको सीप, देशका लागि छोरी परियोजना सञ्चालन गर्ने उल्लेख गरेकी छन् ।

निरोगी अभियान सञ्चालन गर्ने भन्दै रेखाले ‘अब रोग पाल्ने हैन अब जरैबाट फालौं ।’ यसका लागि उनले छुट्टै अभियान थाल्ने बताएकी छन् ।