Logo

बागमती पेज

मंसिर ४, २०७९ आईतबार

दर्जन बढी स्थानमा तनाव: दोलखामा २६ राउण्ड गोली चल्दा प्रहरी घाइते


दोलखा । दोलखाको आधा दर्जनभन्दा बढी स्थानमा तनाव सिर्जना हुँदा २६ राउन्ड हवाई फायर भएको छ, भने एक जना घाइते भएका छन् ।

मतदानका क्रममा आधा दर्जन भन्दा बढी स्थानमा झडप र विवाद हुँदा स्थितिलाई नियन्त्रण लिन प्रहरीले २६ राउन्ड हवाई फायर गरेको दोलखाका प्रहरी नायव उपरिक्षक गंगा प्रसाद पौडेलले जानकारी दिए । बैतेश्वर गाउँपालिका २ पुतलीकाठ र गौरीशंकर गाउँपालिका–२ स्थित मतदान केन्द्रमा स्थगित भएको मतदान सुचारु हुन सकेको छैन ।

बैतेश्वर २ मा हवाई फायर हुँदा वडा नम्बर १ मा पनि तनाव भएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ र १ मा प्रहरीले गोली चलाएको छ । जिरी नगरपालिका–९ मा पनि गोली चलेको थियो ।

तामाकोशी गाउँपालिका ३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप हुँदा १७ राउन्ड फायर गर्नुपरेको प्रहरीले जनाएको छ । कालापानीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताकाबीच झडप भएको छ । झडपमा सुरक्षाकर्मी पनि घाइते भएका छन् । झडपको क्रममा ब्यालेट बक्स फुटाउन खोजिएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।

यसअघि आज विहान जिरी नगरपालिकाको वडा नम्बर ९ चिपचिपे, मेलुङको वडा नम्बर ४ भेड्पु, बैतेश्वरको नाम्दु र तामाकोशीको मालु लगायतका स्थानमा पनि तनाव सिर्जना भएको थियो ।