Logo

भवानी कार्की

मंसिर ७, २०७९ बुधबार

पशुपतिको मेला: नि:शुल्क चियाको त्यो स्वाद…


काठमाडौँ । बाला चर्तुदशीको अवसरमा पारेर म पशुपति परिसर भित्र छिरे । साँझको साँढे सात बजेको थियो । बाला चर्तुदर्शीको मेला पशुपतिमा पहिलो पटक हेर्दै थिँए। टाढा–टाढा देखी आएका मानिसहरुसँग जमघट धेरैनै हुने रहेछ । ठुलो सँख्यामा मानिसको भिडभाड, बदाम, सुन्तला र थर्मसमा चिया बेच्नेको लर्को हेर्दा निकै रमाइलो देखिन्थ्यो त्यहाँको माहोल ।

मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ र सो दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ । नेपाल तथा भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा आज शतवीज छर्ने तिर्थालुहरुको घुईँचो रहने गर्दछ । पशुपति यतिकै पनि पवित्र ठाउँ । त्यहाँ कुनै पनि ठाउँ खाली थिएन जुन बत्ती नबलेको होस् । मानिसहरूले आफ्नो व्यवस्था गरी ठाउँ ओगटी सकेका रहेछन् । 

पशुपतिको गेट देखी खोला किनार, कैलाश डाँडा सम्म मानिसहरूको लर्को थियो । हेर्दा साहै रमाइलो हुने रहेछ पशुपतिका ती दृश्यहरू । नेपालीमा एउटा उखान छ, “पशुपतिको जात्रा शित्राको व्यापार” भनेझैँ व्यापारीहरूले रातभरिलाई पुग्ने गरी व्यापार राखेका थिए । कतै सुन्तला, बदम कतै थर्मसमा चिया बेच्नेहरू भेटिरहे । म सबैतिर नियाल्दै थिँय ।

यतिकैमा मैले एउटा आवाज सुने आउनुस्, आउनुस् फ्री मा चिया पिउनुस्…। सबै मानिसहरू त्यतै लागिरहेका थिए । म पनि त्यतै लागे । नभन्दै ५ जनाको समूहले मान्छे बटुलेर चिया बाँडीहकेको देखेँ म यसो नियाल्दै थिएँ एक जना दाजुले मेरो हातमा चियाको गिलास थमाउँदै भन्नुभयो बहिनी चिया पिउनुस् । 

मैले ती दाजुलाई धन्यवाद दिँदै चिया समाए र एक चुस्की लिए । वाह कस्तो मिठो चिया, दूध नै दूधले बनाएको चिया साँच्चै नै मिठो थियो ।  

चिया खानेको लर्को थियो । सबैले चियाको प्रशंसा गरिरहेका थिए । मैले कौतुहलता लागेर चिया बाँडी रहेका एक जना दाइलाई सोधे, दाइ फ्री मा अनि यती मिठो चिया । ती व्यक्ती थिए अच्युत अर्याल उनले भने,“यो एउटा मानवता हो, जाडोको समयमा यहाँ आउने भक्तजनलाई भोलेनाथको प्रसाद पनि हुने र सेवा नै धर्म हो भन्दै यसरी चिया बाँड्दै छौँ ।”

काठमाडौँ हात्ती गौडा देखी दर्शन गर्न आएकी ममता अर्यालले चिया पिउँदै भनिन्, “यो त पशुपति विकास कोषले गर्ने काम हो, अन्य देशबाट आएका पाहुनाको लागि पनि यो प्रशंसा योग्य र सम्झना लायकको काम बन्ने थियो तर युवा समूह बनाएर यसरी सेवा गरेको देख्दा खुसी लाग्यो ।”

चिया खुवाउने योजना बनाएका मुख्य वक्ता उमेश शाहले भने, “बाला चर्तुदशीमा पितृका लागी रातभर जागरम बसेर मानिसहरुले जुन संस्कार गरिरहनुभएको छ । उहाँहरुलाई चिया खुवायर हामीले त्यो संस्कारलाई साथ दिएका हौँ ।”

बच्चा देखी बुढा सम्मले चिया पिइरहेका थिए । यता फ्री मा चिया पिउन पाएपछि व्यापारीहरूको थर्मसको चियाले भने ग्राहक नपाउँदा ती व्यापारीहरू असन्तुष्ट देखिन्थे । बुढापाकाले भन्दै थिए, जे होस् चिया खुवाउनेको जय होस् ।