Logo

बागमती पेज

मंसिर ८, २०७९ बिहीबार

आजैबाट काम थाल्छु, फूलमाला र खादा नलगाइदिनु: रवि लामिछाने


काठमाडौँ । चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आजैबाट काम थाल्ने बताएका छन् । आफ्नो चुनावी नतिजालाई विजयका रुपमा नलिने उनको भनाइ छ ।

फेसबुकमा स्टाटस लेख्दै लामिछानेले चुनावमा निर्वाचित हुनुको अर्थ विजयी हुनु नभएकोसमेत बताएका छन् ।

‘यो त जाँच दिनका लागि सक्षम हुनु हो । म आजबाट जाँच दिन जाँदैछु, जसको परीक्षा ५ वर्षपछि मात्र आउनेछु ।’

उनले विजय र्‍यालीको साटो धन्यवाद सभा गर्ने उल्लेख गरेका छन् । त्यहाँ आउनेहरुलाई फूलमाला, अविर वा खादा नल्याउन उनको आग्रह छ ।

‘म आजैबाट काम थाल्दैछु । मेरो सभा हुने ठाउँहरुमा २ वटा बाकस हुनेछन् । एउटा बाकसमा समस्या पेटिका लेखिएको हुनेछ । त्यसमा तपाईंका समस्या लेखेर खसाल्नुहोला । अर्कोमा उजुरी समस्या सुझाव पेटिका लेखिएको हुनेछ । त्यसमा भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर पठाउनुहोला’, रविले भनेका छन् ।