Logo

बागमती पेज

मंसिर २०, २०७९ मंगलबार

घरेलु हिंसामा परेकी नेहाले हालिन श्रीमानविरुद्ध मुद्धा, ग्राण्डीबाट निकालिए पंकज


काठमाडौँ । श्रीमान्‌बाट दाइजोको निहुँमा घरेलु हिंसामा परेकी नेहा चौधरीले जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेकी छन् । हिंस्रक श्रीमान् डा. पंकज चौधरीविरुद्ध उनले घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी हुन् ।

महोत्तरीको औरही १ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर ५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेका हुन् । दशैंको टीकाको दुई दिनपछि नेहालाई श्रीमान्को टोकाइ र कुटपिटबाट थिलथिलो भएको अवस्थामा माइतीले उद्धार गरेर अस्पताल पुर्‍याएका थिए ।

अहिले नेहाको स्वास्थ्यमा सुधार आएको छ । उनले जलेश्वरस्थित जिल्ला अदालतमा पुगेर आइतबार र सोमबार श्रीमान्‌विरुद्ध मुद्दा दायर गरेकी हुन् । यता, नेहाका श्रीमान्‌ले भने उनीविरुद्ध डिभोर्सको मुद्दा दायर गरिसकेका छन् । श्रीमती झगडालू भएको र मानसिक समस्यासमेत रहेको उनको आरोप छ । तर, नेहाले भने आफूमा कहिल्यै कुनै मानसिक समस्या नरहेको बताएकी छन् ।

यसैबीच नेहाका श्रीमान् पंकजको कर्तुत बाहिर आएसँगै उनले काठमाडौं दुई अस्पतालमा जागीर गुमाएका छन् । उनी जनरल फिजिसियनका रूपमा टोखास्थित ग्राण्डी अस्पतालमा काम गरिरहेका थिए । उनको समाचार बाहिर आएपछि सो अस्पतालले पंकजलाई सेवाबाट बर्खास्त गरेको छ ।

यही बीचमा पंकजले थापाथलीस्थित नर्भिक अस्पतालमा जागिरको अवसर गुमाएका छन् । सो अस्पतालमा काम गर्न उनले अन्तर्वार्ता दिएका थिए । तर, घरेलु हिंसासम्बन्धी समाचार मिडियामा आएसँगै अस्पतालले उनलाई नियुक्ति नगर्ने निर्णय लियो । अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले डा। चौधरी नर्भिकमा काम गरिरहेको भनेर समाचार आइरहेको भएपनि त्यो गलत रहेको बताए ।

पंकज अहिले महोत्तरीको आफ्नै घरमा बसिरहेका छन् । उनीविरुद्ध पक्राउ पुर्जी चाँडै जारी हुने सम्भावना छ ।

नेहा र पंकज तीन वर्षको प्रेम सम्वन्धपछि पारिवारिक सहमतिमा विवाह गरेका थिए । ७७ साल फागुनमा ईंगेजमेन्ट भएपछि पंकजले नेहाको परिवारसित विभिन्न डिमान्ड गरेर दुख दिन थालेका हुन् । अन्ततः ईंगेजमेन्टको एक वर्षपछि गत फागुनमा विवाह भएको थियो । आफ्नो औराही बजारमा भएको घर र जग्गासमेत बेचेर परिवारले धुमधामसँग छोरीको विवाह गरिदिएको थियो ।

नेहाको परिवारका अनुसार विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०/६० लाख चाँदीका गहना दाइजो दिइएको छ । तर, विहेपछि पंकजले काठमाडौंमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए । दाइजोको विवादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासुले आफूलाई यातना दिने गरेको नेहाले बताएकी छन् ।