Logo

बागमती पेज

मंसिर २०, २०७९ मंगलबार

ईन्गेजमेन्ट टुटेपछि युवतीको ‘आत्मदाह’, युवक हिरासतमा


काठमाडौँ । काठमाडौंको धुम्बाराहीमा आइतबार साँझ आफैलाई पेट्रोल खन्याएर आगो लगाएकी युवतीको सोमबार बिहान मृत्यु भयो । उनको परिवारले यो घटना शंकाष्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।

बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन् । सख्त घाइते भएको अवस्थामा युवतीलाई कीर्तिपुरस्थित कीर्तिपुर अस्पलतामा लगिएको थियो । उपचारका क्रममा सोमबार साँझ ९ बजेर २२ मिनेटमा मृत्यु भएको हो ।

मृतक युवती र सुधनबीच शनिबार मात्र ईन्गेजमेन्ट तोडिएको थियो । केटा पक्षले केटीको घर पुगेर जनै सुपारी फिर्ता गर्दै विवाह तोडेका थिए । त्यसको भोलीपल्ट युवतीले केटाको घर पुगेर आफूमाथि पेट्रोल खन्याएकी थिइन् ।

प्रहरीका अनुसार सुधन र युवतीबीच गत भदौ १८ गते इन्गेजमेन्ट भएको थियो । एक वर्षभित्र बिहे गर्ने सहमति भए पनि दुई जनाबीच सम्बन्ध चिसिएपछि दुवै परिवार विवाह नगर्ने निर्णयमा पुगेको प्रहरी स्रोतको भनाइ छ । उनीहरु ५र६ महिनादेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले सुधनलाई पक्राउ गरेर अनु्सन्धान अगाडि बढाएको छ । व्यवसाय गर्दै आएका सुधन मृतक युवतीको परिवारसँगको व्यापारिक सम्बन्धका आधारमा नजिकिएका थिए । प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा सुधनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

पुष्पाका आफन्तले सुधन र उनको परिवारले निरन्तर मानसिक यातना दिएको र जबर्जस्ती विवाह तोडेको आरोप लगाएका छन् । उनीहरुले प्रहरीमा किटानी जाहेरीसमेत दिएका छन् ।