Logo

मेघनाथ पहाडी

मंसिर २७, २०७९ मंगलबार

शिक्षा राज्यको दायित्व हो: सांसद प्रदीप पौडेल


काठमाडौँ । काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले शिक्षा राज्यको दायित्व भएको बताएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर ४ स्थित बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा बोल्दै पौडेलले इतिहासमा शिक्षा समाजको दायित्व रहे पनि आजको आवश्यकता अनुसार सरकारी विद्यालय राज्यको दायित्व भएको बताएका हुन् । 

उनले भने, “सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीहरूले मन दुखाउनुपर्ने अवस्था निर्माण भएको छ । अहिलेको एक्काईसौं शताब्दीमा पनि विद्यार्थी सरकारी विद्यालयमा पढ्न अनकनाईरहेका छन्। सार्वजनिक विद्यालयमा भर्ना हुन पाउँदा गर्व गर्नुपर्ने हो । तर त्यस्तो हुन किन सकेको छैन ? त्यसकारण आम नागरिकले शिक्षाको दायित्व राज्यको हो भन्ने महसुस गर्ने गरी सरकारी विद्यालयलाई विकास गर्न जरुरी छ ।”

“समाजमा योग्य र दक्ष जनशक्तिको निमित्त विद्यालयको स्थापना गरिएको हो । विगतमा विद्यालयले समाजको लागि जति योगदान गरे त्यसरी नै आजका विद्यालयले योगदान गरेका छन् त ? भविष्यमा यस्ता विद्यालयहरूले समाजलाई योगदान पुर्‍याउन सक्छन् त ? यो गम्भीर प्रश्न हो । शिक्षा समाजको दायित्व हो कि, राज्यको ? त्यसैले हामीले यस विषयमा ध्यान दिनुपर्छ,” उनले थपे ।

सांसद पौडेलले आजको आवश्यकता प्राविधिक शिक्षा मात्र नभएर शिक्षालाई प्रविधिकरण गर्न पनि जरुरी रहेको भन्दै डिजिटलाईजको प्रोसेसमा लानका निम्ति विद्यालयहरूमा यस्तो सिकाई समयमै हुनुपर्ने बताए । 

त्यस्तै मौलिकता बुझाउन नसक्ने र देशभित्र भएको श्रोत साधन के हो बुझाउन नसक्ने शिक्षा देशका निम्ति काम नलाग्ने समेत सांसद पौडेलले बताएका थिए ।