Logo

बागमती पेज

पुस ४, २०७९ सोमबार

काठमाडौंमा नगरपालिका संघको महाधिवेशन सुरु


काठमाडौँ । नेपाल नगरपालिका संघको ८औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सोमबारदेखि सुरु भएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख–उपप्रमुखहरुको सहभागिता रहेको संघले जनाएको छ ।

कमजोर व्यवस्थापन प्रति जनप्रतिनिधिको गुनासो

संघको भद्रगोल व्यवस्थापनका कारण कार्यक्रममा सहभागी हुन आएका कतिपय जनप्रतिनिधि कार्यक्रम स्थल भित्र प्रवेश गर्न पाएनन् ।

प्रधानमन्त्री देउवा हलमा प्रवेश गरेपछि राष्ट्रिय सभागृह पुगेका जनप्रतिनिधिलाई हल भरिभराउ भएको भन्दै सुरक्षा टोलीले उनीहरुलाई बाहिरै रोकेको हो । हलभित्र जान नदिइएपछि जनप्रतिनिधिहरुले सुरक्षा टोलीसँग वादविवाद समेत गरेका थिए ।

सुरक्षाकर्मीहरुले ठाउँ खाली भएपछि मात्रै भित्र जान भनेपछि कार्यक्रममा सहभागी हुन आएका जनप्रतिनिधिहरुले संघको व्यवस्थापनमा प्रश्न उठाएका थिए ।

पत्रकारलाई पनि रोक

राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा समाचार संकलन गर्न पुगेका केही पत्रकारहरुलाई पनि प्रधानमन्त्रीको सुरक्षा टोलीले ‘अब जान मिल्दैन’ भन्दै रोकेका थिए ।

जनप्रतिनिधि जस्तै पत्रकारहरुलाई रोकेपछि नगरपालिका संघको सचिवालयले अनुरोध गर्दा पनि सभागृहको ढोका प्रधानमन्त्रीको सुरक्षा टोलीले खोल्न नमानेका हो । त्यसपछि संघको सचिवालयमा रहेका कर्मचारीहरुले सभागृहमा ठाउँ नभएको जानकारी पत्रकारलाई दिएपनि पत्रकारहरु हिँडेका थिए ।

३ दिन चल्ने महाधिवेशनमा संघले नयाँ कार्यसमिति चयन सहित अन्तर सरकारी छलफल, वित्तिय संघीयताको विषयमा छलफल, सेवा प्रवाह र लगानी, जैविक विविधताबारे छलफल गर्नेछ ।