Logo

बागमती पेज

पुस ५, २०७९ मंगलबार

सरकारले शिक्षामा विभेद गर्दा बादी समुदायका युवती यौन व्यवसाय अँगाल्न बाध्य


काठमाडौँ । बादी समुदायका युवतीहरूले आफ्नो समुदायका लागि सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । सोमबार बादी समुदायका युवतीहरूले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पिछडिएको वर्गले अर्को पिछडिएको वर्गसँग भिडिरहनुपरेको भन्दै बादी समुदायलाई छुट्टै कोटाको व्यवस्था सरकारले गरिदिनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरूले संविधानमा लेखिएका कुराहरू कागजमा मात्रै सीमित हुँदा बादी समुदायलाई झनै पीडा थपिएका महसुस आफूले गरेको बताए । बादी समुदायबाट पहिलो पटक उच्च शिक्षा हासिल गरेका बादी युवतीहरूले सरकारले बादी युवतीहरूको शिक्षामा विभेद गरेका कारण बादी युवतीहरू बाध्यात्मक यौन व्यवसाय अँगाल्न बाध्य भएको बताए ।

कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै बादी समुदायबाट पहिलो पटक व्यापारमा स्नातकोत्तर गरीरहेकी देवीसरा बादीले बादी समुदायलाई शिक्षामा विभेद गरिँदा बादी युवतीहरु बाध्यात्मक यौन व्यवसाय अँगाल्न बाध्य भएको बताइन् । उनले पहिला अशिक्षाका कारण यौन व्यवसायमा लाग्ने गरेको भएपनि पछिल्लो समय सरकार सहयोगी नबन्दा यौन व्यवसायमा लागिरहेको बताइन् । उनले बादी समुदायका महिलाहरु घर खर्च धान्नका लागि भएपनि सानै उमेरबाट यौन व्यवसायमा लाग्ने गरेको बताइन् ।

त्यस्तै बादी समुदायबाट अधिवक्ता बनेकी सीता बादीले व्यवस्था बदलिँदा पनि बादी समुदायको अवस्था परिवर्तन हुन नसकेको बताइन् । उनले नागरिकता पाउन पनि बादी समुदायले हात पाउ जोड्नुपर्ने अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले राजनीतिक दलहरुले निर्वाचनताका ठूलो आश देखाउने तर अघिपछि हेप्ने प्रवृत्ति रहेको बताइन् ।

सरकारले बादी समुदायका बालबालिकाको शिक्षामा सहयोग नगर्ने र अन्य संस्थाले पनि कक्षा १० पछि पढाउन नपाउने कानून हुँदा बादी समुदायका युवतीहरु यौन व्यवसायमा फर्किन थालेको बताइन् । आर्थिक अवस्थाका कारण यौन व्यवसायमा लाग्न बाध्य भएका बादी समुदायका युवतीहरुको उद्धारका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बादी समुदायको माग छ ।