Logo

भवानी कार्की

पुस १७, २०७९ आईतबार

जनभावना अनुरुपका काम गरेर देखाउने अध्यक्ष केसीको तयारी


काठमाडौँ । बैशाख ३० मा भएको स्थानीय तह निर्वाचन पश्चात निर्वाचित भएका जनप्रतिनिधिहरु यतिबेला विकाश निर्माणका काम गर्न व्यस्त छन् । सबै क्षेत्रका जनप्रतिनिधिहरु यतिबेला सभा सम्मेलन तथा गोष्ठीसँगै आ–आफ्ना क्षेत्रमा परिवर्तन गर्न लागिपरेका छन् । यसै सन्दर्भमा आधारित रहेर हामीले बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्रीराम केसी सँग विकास निर्माणका कामलाई जोड दिंदै संवाद गरेका छौँ । उहासँग बागमती पेजका लागि भवानी कार्कीले गरेको कुराकानी यसप्रकार छ ।

अध्यक्ष ज्यु, तपाइको कार्यकाल कस्तो भईरहेको छ ?
धन्यवाद, समग्रमा भन्नुपर्दा मेरो कार्यकाल उपलब्धि मुलकनै रहेकोछ । कार्य व्यस्तताका कारण पनि जनताको सेवामा हरपल हामी लागिरहेका छौँ । वडामा राम्रो कामहरु भईरहेको छ ।

निर्वाचित भईसकेपछि वडामा के–के काम गर्नुभयो ?
निर्वाचित भईसकेपछि हामीले धेरै योजनाहरु बनाएका छौँ । पुराना योजनाहरु पनि केही बाँकी रहेका थिए । वडा स्तरिय ३१ वटा योजनाहरु बनेका छन् । ति मध्ये ७ वटा योजनाका काम सम्पन्न भईसकेको छ । हाम्रो वडामा नगरस्तरिय १४ वटा योजनाहरु रहेका छन् । जसमा विद्यालय भवन परेको छ जसमा १ करोडको बजेट रहेको छ । त्यस्तै वडामा स्वास्थ्य केन्द्र अभावका कारण १ करोड बजेटकै स्वास्थ्य चौकी भवान बन्ने तयारीमा छ । विद्यालय भवन स्वास्थ्य चौकी भवन टेन्डर प्रकृयामा काम हुने तयारी छ ।

वडा स्तरिय भनिएको ७ योजना पुरा भइसक्यो भन्नुभयो ति के के हुन् बताईदिनुस् न ?
७ योजना अन्तर्गत पूर्वाधार विकास नै परेका छन् । जस अन्तर्गत २२ फिटको वडा कार्यलय मार्ग तयार भइसकेको छ । वडाको स्वर्णिम टोलमा बाटो कालोपत्रे भइसकेको छ । त्यस्तै पञ्चकन्या जाने कोलोनीको विभिन्न बाटोहरु ढलान तथा पीच गरिएको छ । अर्को  विष्णुमती धन्य ढिकुरो संरक्षण सँगै घट्टा टोलको ढल व्यवस्थापन समेत भईसकेको छ ।

हाल यस वडाको मुख्य समस्या के हो ?
हाल हाम्रो वडामा खानेपानीको मुख्य समस्या रहेको छ । चुनावको समयमा पनि मैले पासिकोट वासीलाई घरघरमा पानी पुर्याउने घोषणा गरेको थिए । त्यसमा म लागिपरिरहेको छु । पासिकोट खानेपानी समिति र केयुकेयलबाट तीन सय घरधुरीलाई पुग्नेगरी खानेपानीको लाईन वितरण गर्ने तयारी भईरहेको छ । पासिकोट खानेपानी  र केयुकेयल भन्दा बाहेक हामीसँग चपली उपभोक्ता समिति रहेको छ । पासिकोट खानेपानीले थप सय घरधुरीलाई पानी दिने तयारी गरेको छ जसकारण थप सहज हुने पाएका छौँ ।

वडा कार्यालय भवन बनाउने तयारी के छ ?
हाम्रो वडा भवन बनाउने तयारी भईरहेको छ । जसका लागि नेपाल सरकारको नाममा रहेको करिव तीन रोपनी जग्गामा नगरपालिका प्रमुखको उपस्थितिमा भवन शिलान्यास गरिसकेका छौँ । भवनको डिपिआर समेत भइसकेको छ । यो भवनको लागत ४ करोड रहेको छ । तर टेन्डरको प्रकृयागत रुपमा जाँदा बजेट बढ्न पनि सक्छ । अहिलेको लागत भने ४ करोड हो ।

भौतिक पुर्वाधार विकासमा कस्ता काम भईरहेको छ अध्यक्ष ज्यु ?
पुर्वाधार विकासका कामहरु पनि भईरहेको छ । शिक्षा, स्वास्थ्य, बाटोघाटोको कामहरु अघिवढिरहेका छन् । हाम्रो वडामा २ वटा समुदायीक विद्यालयहरु छन् । विद्यालयको बृद्धी विकासको लागि आवश्यक कुराहरुको परिपुर्ति गर्ने काम भईरहेको छ । स्वास्थ्यको हकमा स्वास्थ्य केन्द्र बनाउने तयारीमा हामी जुटेका छौँ । बाटोको हकमा चपली घुम्ती देखी टोखा नगरपालिका चण्डेश्वरी सम्मको ३ किलोमिटरको बाटो हालै बन्दैछ । त्यो बाहेक १ करोड लागतको कलभर्टको पनि तयार हुँदैछ ।

महिला तथा युवा लक्षित कार्यक्रमहरु के कस्ता छन् ?
हामीले महिला तथा युवा लक्षित कार्यक्रमहरु गरिरहेका छौँ । महिला दिदिबहिनीका लागि हामीले मकैको खोस्टाबाट बुक्के फूल बनाउने तालिम सञ्चालनमा ल्याएका थियौँ । यो तालिम प्रभावकारी पनि भएको छ उहाँहरुले फूल बनाउने सिपबाट सुन्दर फूलहरु बनाउनुभएको छ र देश विदेशमा समेत उहाँहरुले बनाएको फूलको माग बढ्दो रहेको छ । त्यसैगरी युवाहरुका लागि हामीहरुले खेलकुद क्षेत्र लगायत अन्य क्षेत्रमा उहाँहरुको कला, क्षमता हेरेर कार्यक्रमहरु बनाएका छौँ ।

सार्वजनिक जग्गा कति छन्, ति जग्गाको संरक्षणमा गर्न कस्तो पहल गर्नुभएको छ ?
हामीसँग ठुला–ठुला प्लटहरु छन् । जुन २३ रोपनी, २५८ रोपनी, ११४ रोपनी लगायत अन्य गरेर कुल ४०० रोपनी भन्दा धेरै जग्गा रहेका छन् । कतिपय जग्गा अतिक्रमित गरिएका छन् । सुकुम्बासीको कार्ड बोकेर केही परिवार पनि बस्नुभएको छ । उहाँहरु सुकुम्बासी हो वा होइन पहिचान गर्ने तयारीमा छौँ । अतिक्रमित जग्गा सकेसम्म जोगाउने प्रयास गरिरहेका छौँ । त्यसको लागि केही समय लाग्न सक्छ ।

निर्वाचन ताका तपाईँको घोषण पत्रमा के–के उल्लेख गर्नुभएको भएको थियो ? ५ वर्षभित्र सम्पुर्ण चुनावी प्रतिबद्धता पुरा गर्नसक्नुहुन्छ ?

मेरो घोषणा पत्रमा एक घर एक पानीसहितको धारो पहिलो प्रथामिकता थियो । त्यसमा म लागिपरीरहेको छु । आफ्नै वडा भवन हुन्छ भनेको थिँए । त्यसको तयारी भइरहेको छ । सार्वजनिक जग्गाहरु संरक्षण गर्ने कुराहरु पनि समेटेको छु, अर्को धनेश्वर खेल मैदान बनाउने तयारी रहेको छ ।

आउँदो ५ वर्षमा उहाँहरुले अपेक्षा गरेको भन्दा राम्रो र धेरै कामहरु गरेर देखाउने प्रतिवद्धता म सम्पुर्ण वडावसीहरुलाई दिन चाहान्छु । त्यसको लागि मलाई सबै वडावासीको साथ सहयोग आवश्यक छ । सबैको साथ र इच्छा शक्ति भयो भने  धेरै काम गर्न सकिन्छ । हामीले वडावासीको माग तथा आवश्यक्ता अनुसारका विभिन्न कामहरु गरेर देखाउने छौं ।