Logo

बागमती पेज

पुस २२, २०७९ शुक्रबार

सर्वोच्चमा वरिष्ठ अधिवक्ताको बहस: रवि लामिछाने नेपाली नागरिक होइनन्


Suprme-Court sarbochha adalat

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको जिकिर गर्दै सर्वोच्चमा एक वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले लामिछाने नेपाली नागरिक नै नभएको जिकिर गरेका हुन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा लामिछानेको नागरिकता विवादमा सुनुवाइ हुँदा भण्डारीले लामिछाने गृहमन्त्रीमा रहिरहन नमिल्ने जिकिर गरे ।

अमेरिकाको नागरिकता लिएपछि लामिछाने नेपाली नागरिक नहुने र नागरिकता सम्बन्धी ऐन २०६३ को दफा १० (१) को अनुसार लामिछानले २०५० सालमा लिएको नागरिकता दुरुपयोग गरेको देखिएको जिकिर गरे । निर्वाचन आयोगमा लामिछानेले पुनः नागरिकता नलिएको कुरा स्वीकारेको उल्लेख गर्दै भण्डारीले ऐनको दफा ११ को प्रक्रियामा नजाने छुट कसैलाई नभएको तर्क गरे ।

यस्तै अधिवक्ता रमन कर्णले नागरिकता सम्बन्धी ऐनमा स्वतः खारेज हुने व्यवस्था भएपनि पुनः प्राप्तिको व्यवस्था रहेको उल्लेख गरे । जुन प्रत्रिया लामिछानेले पुरा नगरेको उनको भनाइ थियो ।