Logo

बागमती पेज

पुस २४, २०७९ आईतबार

रेसुङ्गामा १६ वर्षपछि जहाज अवतरण हुँदा छायो खुसीयली


गुल्मी । निर्माण सुरु भएको १६ वर्षपछि आइतबार गुल्मीको रेसुंगा विमानस्थलमा तारा एअरको बिमानले प्रदर्शन उडान (डेमो फ्लाइट) सञ्चालन गरेको छ । रेसुङ्गा नगरपालिका– १० सिमीचौर थालेमालेस्थित रेसुङ्गा विमानस्थलमा तारा एयरको नाइन एन एएलओ ट्वीनअटर जहाजले प्रदर्शन उडान गरेको हो ।

प्रदर्शन उडानका लागि काठमाडौंको त्रिभुवन विमानस्थलबाट आएको जहाजमा गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी सवार थिए । उनीहरुले गुल्मेलीको जहाज चढ्ने सपना पूरा भएको भन्दै खुशी व्यक्त गरे ।

जहाज काठमाडौंबाट ४५ मिनेटमा गुल्मी आइपुगेको थियो । तारा एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले रेसुङ्गा विमानस्थलमा दिउँसो हावाको गति बढी हुने भएकाले बिहानी समयमा भने नियमित उडान गर्न सकिने बताए ।