Logo

बागमती पेज

माघ २, २०७९ सोमबार

विमान दुर्घटना: ३ शव महिला-पुरुष पहिचान भएन


काठमाडौँ । यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटनास्थलबाट सङ्कलन गरिएकामध्ये ३ वटा शवको पहिचानमा समस्या भएको छ । ३ शवमध्ये पुरुष र महिला नछुट्टिने अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिए ।

कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यती एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । धेरै जलेको कारण ३ जनाको शव पहिचान गर्न समस्या भएको एसपी केसीले जानकारी दिए ।

दुर्घटनास्थलबाट सङ्कलन गरिएकामध्ये ३९ शव पुरुषको र २५ शव महिलाको पहिचान भएको छ । सुरक्षाकर्मीहरुले पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोचमा सोमबार बिहानैदेखि पुनः खोज तथा उद्धार सुरु गरेका छन् ।

दुर्घटनास्थलबाट ६७ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा लगिएको छ । एउटा शव खोँचमा देखिएको र सो शव निकाल्ने प्रयास भइरहेको एसपी केसीले जानकारी दिए ।

सशस्त्र प्रहरी बलले सोमबार बिहान ४ जनाको शव खोँचबाट निकालेको छ । खोज तथा उद्धारमा सशस्त्र प्रहरी बलको गोताखोर पनि परिचालन गरिएको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ । दुर्घटनामा परेका २३ जनाको सनाखत भएको छ ।