Logo

बागमती पेज

माघ १९, २०७९ बिहीबार

‘आउ साथी एउटा खुसीको दियो बालौ” बोलको जागरण गीत प्रवर्धन कार्यक्रम सम्पन्न


काठमाडौं । मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालले सरस्वती पूजाको अवसर पारेर ”आउ साथी एउटा खुशीको दियो बालौ” बोलको जागरण गीत प्रवर्धनका लागि गीति मेलाको आयोजना गरेको छ ।

मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालका कार्यकारी अधिकृत विमललाल श्रेष्ठको परिकल्पनामा स्टुडियो साउण्ड मिलको प्रस्तुती रहेको छ । समाजमा अपाङ्गता भएका व्यक्तिहरु प्रति जनचेतना जगाउने उदेश्यले ल्याइएको यस गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, बुनु श्रेष्ठ, अञ्जु पन्त, शिव परियार, अस्मिता अधिकारी, पुष्पन प्रधान लगायतको स्वर रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुका सवालमा सकारात्मक सन्देश दिने यस जागरण गीतमा महेश्वरमान राजभण्डारीको मिक्सिङ् तथा मास्टरिङ् रहेको छ भने निरज श्रेष्ठको संगीत संयोजन रहेको छ ।

समाजसेवी तथा संगितकार नरेश प्रधानको शब्द र वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत रहेको यस गीतको भिडियोमा रश्मी भट्ट, उषा रजक, रक्षा थापा, सुन्दर धिताल, प्रिन्स प्रसिद्ध सिंह थापा, विकास रिमाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मोहन राई र नारन खतिवडाको निर्देशन रहेको ”आउ साथी एउटा खुशीको दियो बाल्यौ” बोलको जागरण गीतलाई गत २०१९ डिसेम्बर ३ तारिखमा अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवसका दिन तत्कालिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीबाट विमोचन गरिएको थियो ।

सरस्वती पूजाका अवसरमा ललितपुरको मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालले गीति मेला कार्यक्रम गरी यस गीत प्रवर्धनका लागि सहयोग गरेको हो । यसै अवसरमा मस्तिष्क पक्षाघात तथा अन्य अपाङ्गता भएका बालबालिकाहरु र कोपिला नेपालका बालबालिकाहरुले यसै गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

यस कार्यक्रमका प्रमुख अतिथि एवं नेपालका लागि अष्ट्रेलियाका राजदुत फेलिसिटी भेल्क ज्भ् भष्अिष्तथ ख्यपि ले यस संस्थाको अवलोकन गर्दै मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरुका लागि संस्थाले उत्कृष्ट काम गरेको भन्दै यस्ता अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा अझै थप कार्यक्रमहरु सञ्चलन गर्नका लागि आवश्यक सहयोग गर्ने बताए । यसै क्रममा उनले ” आउ साथी एउटा खुशीको दियो बाल्यौ” बोलको जागरण गीत ज्यादै प्रेरणादयी र जनचेतनामूलक रहेकोले यसको प्रवर्धनका लागि पनि आफ्ना कार्यक्रमहरु समावेश गराउने बताए ।

उक्त गीति मेला कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, अमन श्रेष्ठ, त्यसै गरी यसै गीतकी गायिका बुनु श्रेष्ठ, यस गीतलाई मिक्सिङ र मास्टरिङ गर्नु भएका साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारी, बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरे र विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु, उनीहरुका अभिभावकहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधहरुको सहभागिता रहेको थियो ।