Logo

बागमती पेज

माघ २०, २०७९ शुक्रबार

वन्यजन्तुको अवैध चोरी शिकारीमा कांग्रेस र स्वतन्त्र सांसदविरुद्ध मुद्दा दायर


काठमाडौं । वन्यजन्तुको अवैध चोरी शिकारीमा संलग्न रहेको ठहर गर्दै पर्सा राष्ट्रिय निकुञ्जले दुईजना प्रदेश सांसदसहित ४७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

निकुञ्ज कार्यालयले काठमाडौं ५ (२) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद श्यामकुमार खड्का र पर्सा ३ (१) बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जयसवालविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुमाथिको कसूर प्रमाणित भएमा ५० हजार र १ वर्षसम्म कैद जरिबाना हुनेछ । सांसद खड्काको नाममा दर्ता रहेको बन्दूक प्रयोग गरेर निकुञ्जमा संरक्षित जरायो मारिएको थियो ।

पुस पहिलो साता भएको सो घटनामा संल्गन रहेको भन्दै सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालविरुद्ध पनि मुद्दा दायर भएको छ ।

पुस पहिलो साता निकुञ्जको टोलीले पर्सा मधेस प्रदेश सांसद प्रमोदकुमार जयसवालको सखुवा प्रसौनी(१ स्थित घरमा ५ जनाबाट मारिएका दुई जरायो, दुई गाडी, हतियार र गोली, नगदलगायत बरामद गरेको थियो । घटनामा सांसद जयसवालका दाजु सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल पनि तानिएका हुन् ।

जरायो मार्न प्रयोग भएको बन्दुक सांसद खड्काको नाममा रहेको खुलेको छ । सखुवा प्रसौनी(१ मा खड्काको माछापोखरी छ । निकुञ्जको टोलीले पक्राउ परेका झापस दास थारू, नवराज बस्नेत, विशाल सहनी, दामोदर अधिकारी र म्लाङ दोङ तामाङविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरूले दिएको बयानका आधारमा निकुञ्जले सांसदद्वय जयसवाल र खड्कालाई मुद्दामा तानिएको हो ।