Logo

बागमती पेज

माघ २६, २०७९ बिहीबार

मन्त्री किरातीद्वारा तेस्रो पटक विमानस्थलको अनुगमन


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो पटक अनुगमन गरेका छन् ।

आज बिहानै साढे पाँच बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थलमा सुधार भएको छ वा छैन भन्ने विषयमा स्थलगत अनुगमन गरेका हुन् ।

तेस्रो पटक अनुगमनमा पुगेका उनले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, ‘यो नै पूर्ण सुधार होइन । तर, क्रमिक सुधार भएको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४ सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद छ ।’

एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा समेत मन्त्री किरातीले व्यक्त गरे। हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्था समेत एयरपोर्टमा गरिएको छ । यसले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किरातीले बताए । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि उनले बताए।

उनले भने, ‘यहाँ भएका सुधारहरू मेरा लागि होइन । तपाईंहरुको मेहनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो एयरपोर्टप्रति उहाँहरुलाई अपनत्व पनि महसुस गराउनेछ ।’

साथै मन्त्री किरातीले पाँच सय ट्रलीको मूल्यंकन गरी आर्थिक प्रस्तावना समेत तयार गर्न निर्देशन दिएका छन्।