Logo

भवानी कार्की

फाल्गुन ८, २०७९ सोमबार

१७ वर्ष देखी पानीको प्यास मेटाउँदै रत्नभक्त प्रजापति


पशुपति मन्दिर परिसरमा शिवरात्रिका दिन पानी वितरण गर्दै प्रजापति

काठमाडौँ । भक्तपुरका ७३ वर्षिया वृद्ध रत्नभक्त प्रजापति विभिन्न जात्रा, पूजा, मेला लागेको स्थानमा पुग्ने गर्दछन् । विगत १७ वर्ष देखी उनको यो यात्रा आजसम्म पनि निरन्तर रही आएको छ । जात्रा तथा मेलामा पुग्ने प्रजापतिको विशेषता भनेको तिर्खाएका मानिसहरुको प्यास मेटाउनु हो ।

पशुपति मन्दिर परिसरमा शिवरात्रिका दिन पानी वितरण गर्दै प्रजापति

एउटा बाँसको साटामा दुई तिर गाग्रीमा पानी भरेर आम्खोरामा सार्दे पिलाउँछन् उनी । काठमाडौँ उपत्यका भित्रका जात्रा, पर्व तथा मेलामा पुग्ने गर्छन् । यतिमात्र नभएर मेलामा तिर्खाएकालाई पानी पिलाउनकै निमित्त अन्यत्र सम्म पुग्ने गरेको उनको भनाई छ । नजिकका जिल्लाहरु काठमाडौँ, भक्तपुर, ललितपुर भन्दा बाहेक उपत्यका बाहिर दोलखा जात्रा देखी धादिङ सम्म पुगेर पानी खुवाएको अनुभव प्रजापतिले बागमती पेजलाई सुनाए ।

पशुपति मन्दिर परिसरमा शिवरात्रिका दिन पानी वितरण गर्दै प्रजापति

उनी भन्छन्, “सेवा नै धर्म हो । म सानो बेलामा पनि खेतमा काम गरिरहेका किसाहरुलाई पानी लिएर पुग्थे । तिर्खा लागेको बेला एक घट पानी पिलाउन पाउनु जस्तो धर्म अरु के हुन सक्छ र ! जीवनमा ठुलो काम केही गर्न नसके पनि केही पुण्यको काम गरौँ भन्ने मनमा लाग्यो त्यसैले पानी लिएर जता पनि पुग्ने गरेको छु ।”

महाशिवरात्रिका दिन पशुपति पुगेका प्रजापति दिनभरि एक हजार भन्दा बढी भक्तजनलाई पानी पिलाएको बताउँछन् । सके मूलको पानी खुवाउने, मूलको पानी नभएको खण्डमा जारको पानी किनेर भए पनि खुवाउँदै आएको उनको भनाई छ ।

प्रजापति सुनाउँछन्, “जारको पानी किन्दा कसैले धर्म हुन्छ लैजानु पैसा पर्दैन भन्नुहुन्छ, कसैको मूलको पानी खुवाउनु भन्नुहुन्छ त कसैले पैसा लिनुहुन्छ । तर मेरो काम भनेको जसरी भए पनि पानी खुवाउने हो । यसो गर्दा मलाई आत्मसन्तुष्टि मिल्छ ।” 

पशुपति मन्दिर परिसरमा शिवरात्रिका दिन पानी वितरण गर्दै प्रजापति

अरु बेला सामान्य काम गर्दे जीवन चलाउँदै आएका प्रजापति नेवार समुदायको हरेक जात्रामा गाग्रीमा पानी बोकेर पुग्ने गरेका छन् । घरको काम छोडेर भए पनि पानी बाँड्न पुग्ने गरेको प्रजापति सुनाउँछन् । सेवा गर्न उमेरले नछेक्ने भन्दै आफूले सकुन्जेल गाग्रीमा पानी बोकेर सेवा गर्ने उद्देश्य रहेको उनले बताए ।