Logo

मेघनाथ पहाडी

फाल्गुन ८, २०७९ सोमबार

काठमाडौँकै ठुलो शिव मुर्ति बूढानीलकण्ठमा बनाइने


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित रातमाटा डाँडामा शिवको मुर्ति निर्माण गर्ने तयारी गरिएको छ । काठमाडौँकै सबैभन्दा ठुलो शिव मुर्ति बूढानीकण्ठको  सो स्थानमा बनाइने भएको हो ।

जसका लागि महाशिवरात्रिको अवसर पारेर नगरपालिका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं १३ का वडाध्यक्ष  टिकेश नारायण श्रेष्ठ लगायतका अन्य वडाका वडाध्यक्ष र स्थानीय सहितको टोलीले मुर्ति निर्माण गर्ने भनिएको ठाउँमा स्थलगत अवलोकन गरेका छन् ।

आन्तरिक तथा वाह्य पर्यटक नगरमा भित्र्याउन जिल्लाको ठुलो शिव मुर्ति निर्माण गर्ने तयारी गरेको नगर प्रमुख अधिकारीले बताए । उनले नगरबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै पर्यटकीय नगर बूढानीलकण्ठ बनाउन लागि परेको बताए ।

वडा नम्बर १३ का वडाध्यक्ष टिका नारायण श्रेष्ठले अग्लो र सुन्दर स्थानमा जिल्लाकै ठुलो मुर्ति निर्माण गर्दा स्थानीयहरुको व्यवसायमा समेत केही आड पुग्ने बताए । छिट्टै मुर्ति निर्माणकोे काम सम्पन्न गरेमा वडावासीलाई केही रोजगार समेत मिल्ने उनको अनुमान छ ।

मुर्ति निर्माणका लागि २ करोड लागतको अनुमान गरिएको छ । मुर्ति निर्माण गर्न स्थानीय, प्रदेश तथा संघिय सरकारबाट र विभिन्न समाजसेवी बाट आवश्यक रकम संकलन गर्ने तयारी रहेको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।

निर्माण गरिने शिव मुर्ति वेस देखी ५० फिट अग्लो र ३५ फिट फराकिलो बनाउने तयारी गरेको मुर्ति निर्माण समिति अध्यक्ष विष्णु बहादुर श्रेष्ठले जनाए ।