Logo

भवानी कार्की

फाल्गुन १८, २०७९ बिहीबार

दोर्दी गाउँपालिकालाई ट्रेकिङको विशेष गन्तव्यका रुपमा स्थापित गर्ने तयारीमा छौं: अध्यक्ष अधिकारी


काठमाडौँ । लमजुङको दोर्दी गाउँपालिकामा ट्रेकिङका लागि प्रचुर सम्भावना बोकेका स्थानहरु रहेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताएका छन् । विहिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दे अध्यक्ष अधिकारीले केही दिनको क्याम्पिङ ट्रेकका लागि अन्यन्तै उपयोगी गन्तव्यका रुपमा दोर्दीका विभिन्न स्थानहरु रहेको बताएका हुन् ।

नेपालको पर्यटन व्यवसायमा नयाँ गन्तव्यको खाँचो भईरहेको समयमा उपत्यकाबाट नजिकै पर्ने दोर्दीका विभिन्न स्थाहरु पर्यटकको पर्खाइमा रहेको अध्यक्ष अधिकारीले बताए ।

उनले भने, सुरुवाती चरणमा ट्रेकिङ विकासका लागि हामीले भेडीगोठबाट सुरु गरेका छौँ । ट्रेकिङ सम्भावित क्षेत्रबाट मानव बस्ती टाढा पर्ने भएकाले पर्यटक सुविधाका लागि हामीले भेडी गोठलाई प्रथामिकता दिएका छौं ।

त्यस्तै ७८८३ मिटर अग्लो मिमालचुली हिमाल चड्ने सम्भावनाको खोजी भईरहेको उनको भनाई छ । दोर्दीका पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नका निमित्त गाउँपालिकाले ५९ लाख रकमको बजेट छुट्याएको अध्यक्ष अधिकारीले जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै पर्यटन व्यवसायी बलराम सुयाल थापाले दोर्दीमा ४ दिन बिताएको अनुभव सुनाउँदै त्यहाँका रमणिय दृश्यहरुको प्रसंसा गरे । पर्यटन क्षेत्रमा लुकेको ठाउँ रहेका कारण यसलाई प्रद्र्धनको खाँचो रहेको भन्दै प्रचार-प्रसार गर्न सके पर्यटन व्यवसायमा टेवा पुर्याउने उनले सुझाए ।

अहिले पालिकाको समन्वयमा भेडीगोठका मालिक तथा गोठालाहरुलाई पर्यटन संस्कृति विकासका साथै अतिथिको स्वागत गर्ने लगायतका आवश्यक प्रशिक्षण गराउने काम हुँदै आएको जनाईएको छ ।

दोर्दीको नौथरसेराबाट शुरु गरेर इलमपोखरी, लिपे लेकहुँदै दाम्राङबाट फेरि नौथरसेरा झर्ने ४ दिनको ट्रेकका लागि उपयुक्त स्थानका रुपमा रहेका छन् ।

नौरथर शेरा ईलामपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्ड ताँजे नौथर शेरामा ८ दिनको ट्रेकिङ रुट रहेको छ ।

त्यस्तै मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह् पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेशिशहर मा ११ दिनको ट्रेकिङमा जान सकिन्छ ।