Logo

बागमती पेज

फाल्गुन २१, २०७९ आईतबार

स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै प्रश्नपत्र नेपाली माध्यममा छपाइ गर्न माग


काठमाडौ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्नातकदेखि स्नातकोत्तर तहसम्मका प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको हो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेरै अखिल (क्रान्तिकारी)ले उक्त माग राखेको हो । पद्मकन्या बहुमुखी क्याम्पस समितिकी अध्यक्ष तिर्सना आले मगरको नेतृत्वमा बालुवाटार पुगेका विद्यार्थी पदाधिकारीले स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै प्रश्नपत्रहरू अंग्रेजी र नेपाली दुवै माध्यममा छपाइ गर्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउँदै अखिल (क्रान्तिकारी)की अध्यक्ष तिर्सना आले मगरले भनिन्, ‘अहिले सरकारी क्याम्पसहरू राजनीति गर्ने अखडा जस्तै बनिरहेका छन् । एजेन्डाविहीन राजनैतिक भाषण र गतिविधिले विद्यार्थीहरूको भविष्य अन्योल बनिरहेको छ । तर, पद्मकन्या बहुमुखी क्याम्पसको अखिल क्रान्तिकारीले भने पठनपाठनमा अवरोध नगरी शैक्षिक समस्याको समाधान र हकहितको लागि विद्यार्थीहरूले प्रत्येक्ष रूपमा अनुभूति गर्ने काम गरेको छ ।’

उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुनुका साथै निरुत्साहित भइरहेको उदाहरण भेट्न सकिन्छ । त्यसैले स्नातक तथा स्नातकोत्तर तहमा समेत अग्रजी र नेपाली दुवै माध्यमबाट पश्रपत्र छपाइको मागसहित ज्ञापन पत्र प्रधानमन्त्री प्रचण्ड समक्ष पेस गरेको अध्यक्ष आले मगरले बताइन् ।

आर्थिक वर्ष २०७९/०८० को परीक्षामा दुवै माध्यमबाट प्रश्नपत्र छपाइ गर्न अखिल (क्रान्तिकारी)ले पेश गरेको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायमा यसबारे छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिए ।