Logo

बागमती पेज

फाल्गुन २१, २०७९ आईतबार

कसरी खेल्ने मैत्रीपूर्ण होली, यस्ता छन् उपाय


काठमाडौँ । होली भनेको प्रेम साटासाट गर्ने एउटा पर्व हो । रंग भनेको उज्यालोको प्रतिक हो । रंगले मनको उज्यालोलाई बुझाउँछ । होलीको बेलामा जाडो सकिएर गर्मीको सुरुवात भएको हुन्छ ।

होलीको रंगमा विभिन्न रसायनिक पदार्थ र सिसाको प्रयोग हुनसक्छ । त्यसैले यस्ता रंग आँखामा पर्यो भने पोल्ने समस्या हुन्छ । कति व्यक्तिलाई रंगको एलर्जी हुन्छ । यस्तो अवस्थामा छाला, कपाल र आँखाको ख्याल गर्नु जरुरी छ ।

फागुको रंगबाट कसरी सुरक्षित रहने:
१. पूरै कपडा लगाऔँ
होलीमा रंग खेल्न मनाही गर्नुभन्दा पनि होली खेल्दा शरीरका सबै अंग छोपिने कुरा कपडा लगाएर खेल्नुपर्छ । यसरी पूरै लुगा लगाएर फागु खेल्दा रंगको रसायनले हाम्रो छालालाई असर गर्दैन । यसले गर्दा घामले डढ्ने समस्या पनि हुँदैन ।
गर्मी लागिसकेको समय हुनाले सुतीको कपडा लगाउनु त्यसैले उनीहरुलाई शरीरका सबै अंग छोप्ने गरी कपडा बढी उपयुक्त हुन्छ ।

२. शरीर र कपालमा तेल लगाउनुपर्छ
होलीको रंगबाट छाला र कपाल बचाउनका लागि तेल सबैभन्दा राम्रो विकल्प हो । रंग खेल्नुअघि शरीर र कपालमा तेल लगाउनुपर्छ । शरीर र कपालमा तेल लगाउँदा रंग टाँस्सिन पाउँदैन र धुँदा सजिलै जान्छ । तेलमा नरिवल, ओलिभ या तोरीको तेल लगाउन सकिन्छ । तेल खासगरी औंला, खुट्टा, गाला, घाँटी र कपालमा लगाउनुपर्छ ।

३. सकेसम्म हर्बल रंग प्रयोग गर्नुपर्छ
सकेसम्म हर्बल रंग अर्थात् प्राकृतिक रंगप्रयोग गर्न दिनुपर्छ । यो केही महंगो भए पनि छालालाई असर गर्दैन ।

४. कालो चश्मा लगाएर खेल्नुहोस् ।
कालो चश्माले आँखालाई बचाउँछ । यदि चस्मा लगाउनु त्यति व्यवहारिक भएन भने आँखालाई चाँही जोगाएर खेल्ने गर्नुपर्छ । आँखामा रसायनयुक्त रंग पस्यो भने एलर्जी या दुखाइ हुनसक्छ ।

५. रंग पखाल्न मन तातोपानीको प्रयोग गर्न सकिन्छ
रंग खेलिसकेपछि त्यसलाई पखाल्न मनतातो पानीको प्रयोग गर्नुपर्छ । मन तातो पानीमा अलिकता कागती मिसाउन सकिन्छ । यसो गर्दा रंगको दाग सजिलै जान्छ । तर, कागती मिसाएको पानीले शरीरमा धेरै रगड्नु भने हुँदैन । रंग पखालिसकेपछि कपाल र छालामा नरिवलको तेल लगाउनाले छाला हल्का नरम बन्छ ।
यस्तै, नुहाएपछि शरीरमा मोस्चराइजर र फेस क्रिम लगाउँदा रंगका कारण उत्पन्न हुने सुख्खापन कम हुन्छ । यसो नगर्ने हो भने शरीर सुख्खा हुन्छ । आवश्यक परे नियमित रुपमा मोस्चराइजर लगाउन सकिन्छ ।