Logo

बागमती पेज

फाल्गुन ३०, २०७९ मंगलबार

गृहमन्त्रालयमा तीन दलको हानाथाप, को-को छन् दावेदार ?


मन्त्री परिषद विस्तारको चर्चा सुरु भएपछि गठवन्धन दलमा गृहमन्त्रीमा हानाथाप सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता विवादमा दोषी ठहर भएपछि त्यसयता नयाँ गृहमन्त्री नियुक्त भएका छैनन् ।

लामिछाने १३ माघमा गृहमन्त्रीबाट हटेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयको कार्यभार सम्हाल्दै आएका छन् । राष्ट्रपति चुनावमा पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री दाहालले मन्त्रपरिषद् पुनर्गठनको तयारी थालेका छन् ।

प्रधानमन्त्रीले नयाँ सत्ता सहयात्रीलाई सरकारमा सहभागी गराउने तयारी गरेपछि गृह मन्त्रालयमा कांग्रेस, माओवादी र एकिकृत समाजवादीबीच हानथाप छ।

माओवादीले सकेसम्म गृह मन्त्रालय आफैँसँग राख्न खोजेको छ । हाल उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रहेका माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सो मन्त्रालय छोडेर भए पनि गृहमा आउन चाहिरहेका छन् ।

१० पुसमा पनि श्रेष्ठलाई गृहमन्त्री बनाउने तयारी थियो । त्यतिबेला एमाले अध्यक्ष केपी ओलीले रवि लामिछानेको पक्षमा अडान राखेपछि श्रेष्ठ भौतिकमा पुगेका हुन् । तर, माओवादी पार्टीभित्रै समेत गृह माओवादीले पाए कसलाई पठाउने भन्ने विषय भने पेचिलो छ । गृह मन्त्रालय जान श्रेष्ठ इच्छुक देखिए पनि प्रधानमन्त्री दाहालले संकेत दिइसकेका छैनन् ।

माओवादीबाट गृहमन्त्रीका लागि शक्ति बस्नेतले पनि लविङ बढाएका छन् । त्यसो त, स्वास्थ्यले साथ दिए वर्षमान पुनको पनि गृहमा दाबी हुने बताइन्छ । उपचारका लागि उनी चीनमै रहेका कारण तत्काल गृहमन्त्री हुने सम्भावना कम छ ।

जनार्दन शर्मा यसअघिसमेत गृहमन्त्री भएसकेको र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री भएका कारण उनलाई दाहालले आफ्नो क्याबिनेट मन्त्री बनाउने सम्भावाना कम छ ।

त्यस्तै अर्को नेता शक्तिबहादुर बस्नेतको समेत चर्चा छ । यसो त गृह मन्त्रालयमा कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको समेत दाबी छ । कांग्रेसले उप–प्रधानमन्त्रीसहित गृहमन्त्रालय पाए कांग्रेस उप–सभापतिसमेत रहेका पूर्णबहादुर खड्कालाई पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्ने गरी पठाउने तयारी गरेको कांग्रेस नेताहरूको भनाइ छ ।

उनीबाहेक पार्टीमा कांग्रेसको तर्फबाट पार्टीको प्रवक्तासमेत रहेका प्रकाशसरण महत र प्रकाशमान सिंह र एनपी साउदको नाम पनि चर्चामा छ । त्यस्तै एकीकृत समाजवादीको भागमा गृह मन्त्रालय परे नेता राजेन्द्र पाण्डे गृहमन्त्रीको दाबेदार हुन।