Logo

भवानी कार्की

चैत्र २, २०७९ बिहीबार

स्ववियु निर्वाचनमा सुनसान गौरीशङ्कर क्याम्पस


काठमाडौँ । देशभरका क्याम्पसमा स्ववियु निर्वाचनको माहौल तातेको छ । चैत्र ५ गते हुने निर्वाचन नजिकिएसँगै देशभरका क्याम्पसमा निर्वाचनको तयारी गरिएको छ । धेरैजसो क्याम्पसहरूले आ–आफ्नो पार्टीबाट उम्मेदवार चयन समेत गरी सकेका छन् । कतिपय क्याम्पसमा उम्मेदवार चयन गर्ने निहुँमा लफडा पनि भइरहेको छ भने कतिपय क्याम्पसमा निर्वाचन नै नहुने भएको छ ।

ती मध्ये एक क्याम्पस हो दोलखाको गौरीशङ्कर बहुमुखी क्याम्पस । गौरीशङ्कर क्याम्पस जिल्लाकै जेठो क्याम्पस हो । यस क्याम्पसको इतिहास हेर्दा दोलखाबाट सबैभन्दा धेरै विद्यार्थी नेता जन्माउने क्याम्पसका रूपमा चिनिन्छ । गौरीशंकरबाट विद्यार्थी नेता बनेकाहरू धेरैले राजनीतिमा सफलता समेत हात पारी सकेका छन् ।

गत निर्वाचनमा पनि यस क्याम्पसमा राजनीति झमेलाका कारण स्ववियू निर्वाचन हुन सकेको थिएन । यस वर्ष निर्वाचनमा क्याम्पसले चैत १५ गते क्याम्पसको वार्षिक उत्सव तथा क्याम्पस सभा गर्ने भएका कारण त्रिविले तोकेको समयमा निर्वाचन हुन नसकेको क्याम्पस प्रमुख शान्त केसीले बागमती पेजलाई जानकारी दिए ।

प्रमुख केसीले भने, गौरीशङ्कर क्याम्पस सामुदायिक क्याम्पस भएको हुँदा निर्वाचनले तोकेको समय भन्दा अन्य समयमा पनि निर्वाचन गर्न सकिन्छ । त्रिविले तोकेको निर्वाचन भन्दा बाहेक अन्य कार्यक्रमहरू बाध्यकारी भए पनि निर्वाचनमा भने हामी बाध्यकारी छैनौँ यसर्थ क्याम्पसका व्यवस्थापन समिति तथा राजनीतिक दलसँग छलफल गरेर निर्वाचन गर्ने तयारीमा छौँ ।

गौरीशङ्करक्याम्पसमा हाल १५ सयको हाराहारीमा विद्यार्थी रहेका छन् । क्याम्पसका विद्यार्थी तथा विद्यार्थी नेता सौगात थापाले पनि क्याम्पस सभा पश्चात् नै सबैको निर्णय अनुसार  निर्वाचन हुने बताए ।

गौरीशङ्करक्याम्पसमा गत निर्वाचनमा भने राजनीति दलहरूकै असहमतिका कारण तालाबन्दी नै भएर निर्वाचन हुन नसकेको क्याम्पस प्रशासनले जनाएको छ ।

यस वर्ष दोलखाबाट तीन वटा क्याम्पसमा निर्वाचन हुने भएको छ । दोलखामा ११ वटा क्याम्पस रहेकोमा तिन क्याम्पसले मात्र निर्वाचनको तयारी गरेका छन् । ती मध्य प्रताप स्मृति क्याम्पस सिंगटी, त्रिपुरा क्याम्पस वैतेश्वर र जिरी क्याम्पस जिरीमा निर्वाचन हुने छ ।