Logo

बागमती पेज

चैत्र ९, २०७९ बिहीबार

सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रजातन्त्रको सुदृढीकरण र जनसमुदायमा लोकतान्त्रिक चेतनाको विकासमा सामुदायिक रेडियोले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) २५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणमा नेपालका सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

संविधान र लोकतन्त्रमाथि गरिएका प्रहारको विरुद्ध र लोकतान्त्रिक प्रणालीको विकासमा रेडियोको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भाषिक र सांस्कृतिक विविधताको संरक्षण र संवर्द्धनमा समेत रेडियोको पहलकदमी स्मरणीय रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गर्दै सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँचमा पु¥याउन सरकार प्रतिबद्ध रहेकोसमेत स्पष्ट पार्नुभयो ।

उहाँले सबै प्रकारका सञ्चारमाध्यम र पत्रकारको भौतिक एवम् पेशागत सुरक्षा र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने जानकारी दिनुभयो ।