Logo

बागमती पेज

चैत्र ९, २०७९ बिहीबार

महेन्द्र बहुमुखीको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित


नेपालगञ्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियु सभापतिमा अनेरास्ववियुका माधव खत्री निर्वाचित हुनुभएको छ ।

खत्रीले नेतृत्व गरेको संयुक्त प्यानल सबै पदमा निर्वाचित भएको छ । खत्री ७५६ मतका साथ स्ववियु सभापति चुनिनुभएको हो ।

खत्रीले नेपाल विद्यार्थी सङ्घबाट सभापतिका उम्मेदवार जीवनराज सुवेदीलाई पराजित गरेका गर्नुभएको हो । सुवेदीले ६६६ मत प्राप्त गर्नुभयो । स्ववियु सभापतिमा ५ जनाको प्रतिस्पर्धा थियो ।

सचिवमा पनि संयुक्त प्यानलकै हरेन्दबहादुर विक ९७६ मतका साथ विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेविसंघका नर्देव थारुले ६५६ मत पाउनुभएको छ ।

यस्तै कोषाध्यक्षमा भरतराज बुढथापा ८७७ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेविसंघका देवी रेग्मीले ७३९ मत पाउनुभयो ।

सदस्यहरूमा पनि संयुक्त प्यानलका सुरेन्द्र रावल, पङ्कज सिजापति, टेकराज कँडेल, चिरञ्जीवी बुढा, निराजन अवस्थी, सुशील बर्मा, सरस्वती बुढा मगर र महेश शर्मा निर्वाचित भएको निर्वाचन संयोजक ठण्डीराज जमरकट्टेले जानकारी दिनुभयो ।

नेविसंघले नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी सङ्गठनसँग तालमेल गर्दा बाँकी सबै विद्यार्थी सङ्गठन अनेरास्ववियुसँग संयुक्त गठबन्धनमा थिए ।

समानुपातिकतर्फ भने नेविसंघले सबैभन्दा बढी मत पाएको छ । नेविसंघले ७२० मत पाउँदा अनेरास्ववियुले ५३१, अखिल क्रान्तिकारी ३८६ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले ३५ मत प्राप्त गरेका छन् ।

४ हजार १ सय २२ मतदाता मध्ये १ हजार ६ सय ९१ जनाले मतदान गरेका थिए । यस क्षेत्रको ठूलो र पुरानो क्याम्पस भएकाले पनि यहाँको निर्वाचनलाई चासोका साथ हेरिएको थियो ।