Logo

बागमती पेज

चैत्र १४, २०७९ मंगलबार

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक बढे


लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकहरूको आगमन वृद्धि हुन थालेको छ ।

पदमार्गमा सन् २०२३ को जनवरीदेखि हालसम्म तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक पदमार्गमा आएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारा पानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार अहिले दैनिक ४०-५० जना पर्यटक पदमार्गमा आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म पदयात्राको राम्रो समयका रूपमा लिइन्छ ।

अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गर्छन् । लमजुङ सदरमुकाम बेँसीसरह अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ । बेँसीसरहबाट खुँदी, भुलभुले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।