Logo

बागमती पेज

चैत्र २२, २०७९ बुधबार

कलाकारितासँगै समाज सेवामा सक्रिय मुना


काठमाडौँ । एउटै व्यक्ति दुई फरक क्षेत्रमा निरन्तर दिन सजिलो छैन । तर समाजसेवी मुना निरौला करिब दुई दशकदेखि कलाकारिता र एक दशकदेखि समाज सेवामा सक्रियता राख्दै आएकी छिन् । 

बिर्तामोड जन्मथलो भएकी निरौला एसएलसीसम्मको अध्ययनपछि थप अध्ययन र गायिका बन्ने सोचमा काठमाडौँ आएकी थिइन् । पढाइका साथसाथै उनले कलाकार मोहन निरौलाको सल्लाहमा अभिनय पनि सिक्न थालिन् ।

उनी भन्छिन्, कलाकार मोहन निरौला मेरो अङ्कल हुनुहुन्छ ।उहाँलेनै अभिनय तथा नृत्य सिक्नुपर्छ भन्ने सल्लाह दिनुभयो । र उहाँकै परिवर्तन नेपाल नामक संस्थामार्फत मैले अभिनय र नृत्य सिकेँ । 

त्यसपछि विभिन्न नाटक, सडक नाटक, टेलिफिल्म, फिल्म तथा म्युजिक भिडियोहरूमा अभिनय गर्दै आइरहेकी छु । 

कलाकार मुना निरौलाले सविन बास्तोलाको निर्देशनमा थोरै भए पुगिसरी सिरियल मार्फत सानो पर्दामा अभिनय सुरु गरेकी हुन् । यसपछि क्रमशः तीतो सत्य, मेरी बास्सै जिरे खुर्सानी लगायत दुई दर्जन सानो पर्दाका टेलिसिरियलहरुमा अभिनय गरेकी छिन । 

ठुलो पर्दामा भने महापुरुष जात्रै जात्रा छक्का पन्जा लगायत आधा दर्जन सिनेमाहरू मा अभिनय गरेकी छिन । गायिका मिरा राणाको गीतबाट म्युजिक भिडियोमा अभिनय गरेकी मुनाले हालै सार्वजनिक भएको बाबु बोगटीको ओइ कान्छी बोलको गीत लगायत केही गीतहरूमा मोडलिङ गरेकी छन् ।

सडक नाटकबाट अघि बढेको

उनको करिअर हालसम्म सडक नाटक निर्देशन तथा अभिनय प्रशिक्षकसम्म भएको छ । आफैले सञ्चालन गरिरहेको जनचेतना समाज परिवर्तन नेपालमार्फत कलाकार पति कवीन्द्र त्रिपाठीका साथ संयुक्त रूपमा विभिन्न जन चेतनामूलक नाटकहरूको निर्देशन तथा अभिनय प्रशिक्षण गर्दै आएकी छिन् । 

हामीले तयार पारेका नाटक जनचेतना मूलक हुन्छन् । कोभिडमा मास्क तथा स्वास्थ्य सम्बन्धी नाटक प्रस्तुत गरेका थियौँ । उनले भनिन् । 

अभिनयदेखि प्रशिक्षण तथा निर्देशनसम्मको कला

कलामा धेरै अनुभव लिएकी मुना अरूको निर्देशनमा आफूले अभिनय गर्नू भन्दा पनि अभिनय सिकाउन सजिलो लागेका बताउँछिन् । 

कलाकारितापछि आफ्नो जीवनको अर्को क्षेत्र समाज सेवामा सक्रियता राख्ने क्रममा जाडोमा न्यानो कपडा वितरण, बाढी तथा भूकम्प पीडितलाई सहयोग लगायत सामाजिक काम गर्दै अँईरहेकी मूनो केही वर्षयता भने आफ्नै संस्थामार्फत सहयोग गर्दै आइरहेकी छिन् । 

पछिल्लो समय समाज सेवामा पनि विकृति फैलिएको कारण आफूहरू जस्तो निः स्वार्थ समाज सेवामा खट्नेहरूको बदनाम भएको मुना बताउँछिन् । कलाकरीता तथा समाज सेवा लगायतमा सम्मानको नाममा विकृति फैलिएको मुना बताउँछिन् ।

समाज सेवामा राजीनितीकरणले पनि निःस्वार्थ समाज सेवा गरिरहेकाहरूलाई नकारात्मक प्रभाव पारेको मुनाको अनुभव छ । 

आगामी दिनमा पनि कलाकारिता तथा समाज सेवामा नै लाग्ने योजना रहेको मुनाले सुनाइन । उनले भनिन्, मलाइ त सामाजिक सेवा गरेको फोटो फेसबुकमा हाल्नुपर्छ भन्ने लाग्दैनथ्यो किनभने मैले चर्चामा आउनका लागि समाज सेवा गरेको थिइन् । तर अहिले सामाजिक सञ्जालमा नहालीकन अगाडी आइँदो रहेनछ भन्ने लाग्न थालेको छ । 

काम गरिरहेको छ है भन्ने देखाउनका लागि पनि सामाजिक सञ्जालमा फोटो राख्नू पर्ने रहेछ भन्ने लागेर कहिलेकाहीँ सामाजिक सञ्जालमा राख्ने गरेको छु । उनले थपिन् ।