Logo

भवानी कार्की

चैत्र २२, २०७९ बुधबार

ट्रेकिङका लागि उपयुक्त गन्तव्य च्छोरोल्पा हिमताल


काठमाडौँ । दोलखाको गौरीशंखर गाउँपालिकामा पर्ने च्छोरोल्पा हिमताल टेकिङका लागि उपयुक्त गन्तव्य बन्दै आएको छ । सामुन्द्रिक सतहबाट ४ हजार ५ सय ५० मिटर उचाइमा रहेको यो ताल सफा, सुन्दर र रमणिय भएका कारण पछिल्लो समय ट्रेकिङको रुपमा प्रख्यात बनेको छ ।

गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत पर्ने यस हिमताल स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षणको केन्द्र नै हो । तर विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस महामारी पश्चात भने पर्यटकहरुको चहलपहल कम भएको गौरीशंखर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले बागमती पेजलाई जानकारी दिए ।

अध्यक्ष कार्कीका अनुसार, पहिलेको तुलनामा अहिले ट्रेकिङमा जान सहज छ । भौतिक पूर्वाधार विकास हुनुका साथै पदयात्र पनि सहज भएको र विभिन्न ठाउँमा होमस्टे निर्माण भएका कारण यात्रुहरुलाई सहज हुने उनको भनाई छ ।

हिमताल वरपरको वतावरण पनि राम्रो छ । स्वच्छ, सफा अनि सुन्दर छ एकपटक सबैजना पुग्नैपर्ने गन्तव्य हो च्छोरोल्पा हिमताल । उनले थपे । पर्यटकहरुको सहजताका साथै पूर्वाधार विकासमा गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष कार्कीले बताए ।

च्छोरोल्पा ताल हुँदै सगरमाथा बेस क्याप्प सम्म पुग्ने पैदलमार्ग निर्माण कार्य भईरहकेको अध्यक्ष कार्कीले बताए । निर्माणको अन्तिम चरणमा पुगेको यस मार्ग सगरमाथा जानेहरुका लागि छिटो छरितो र उपयुक्त मार्ग हुने उनको भनाई छ ।

त्यस्तै गौरीशंकर संरक्षण क्षेत्रका अनुुसार यस २०७९ मा च्छोरोल्पा हिमताल भ्रमण गर्नेको सँख्या ११ सय ४४ रहेका छन् । चिसो मौसममा होमस्टे बन्द हुने भएकाले पर्यटकहरु नपठाउने गरेको क्षेत्रले जनाएको छ । गौरीशंकर संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसी प्रसाद दाहलका अनुसार चैत बैशाख र दशै तिहारको समयमा ट्रेकिङमा जाँदा उचित हुन्छ ।

सूचना अधिकारी दाहालले भने, च्छोरोल्पा हिमतालमा नयाँ वर्षको समयमा ट्रेकिङ जानु उपयुक्त मौसम हो । स्वदेशी तथा विदेशी पर्यटकहरुले गौरीशंकर संरक्षण क्षेत्रमा दर्ता गरेर मात्र घुम्न पाउने व्यवस्था छ । हामीले पनि यो समयमा आउने पर्यटकलाई सुरक्षाका साथ पठाउने गरेका छौँ । यदी केही भएको खण्डमा हेलिकप्टरबाट उद्धार हुन्छ ।

गौरीशंकर गाउँपालिका वडा नं ९ मा रहेको यस तालमा पुग्न राजधानीबाट ६ दिन लाग्ने संरक्षण क्षेत्रले जनाएको छ । सदरमुकाम चरिकोटबाट भने ३ घण्टाको सवारी यात्र पछि पैदल यात्रा गर्नुपर्ने हुन्छ ।