Logo

बागमती पेज

चैत्र २८, २०७९ मंगलबार

बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ


काठमाडौं । बलात्कार आरोप लागेका कपिलवस्तुका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले न्यायाधीश गिरीलाई मंगलबार गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले न्यायाधीश गिरीलाई कपिलवस्तु पठाउन लागिएको जानकारी दिए ।

यसअघि जिल्ला अदालत कपिलवस्तुले चैत २० गते न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । श्रीमती आरती गिरी रावलले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जिल्ला प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।

न्यायाधीश भएपछि गिरी गत असारमा जिल्लामा पहिलो पटक पदस्थापन भएका थिए । गिरीको एक महिनाअघि काठमाडौंस्थित न्याय परिषद्मा सरुवा भएको थियो । उनकी कान्छी श्रीमती लामो समयदेखि वैवाहिक बलात्कारको आरोप लगाएर श्रीमान्विरुद्ध आन्दोलित थिइन् ।

उनीविरुद्ध श्रीमतीले बन्धक बनाएर आफूलाई कुटपिट, यौन शोषण र हिंसा गरेको आरोप लगाएकी थिइन् । कानुनअनुसार कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गत मंसिरमै उनले जाहेरी निवेदन दिएकी थिइन् ।