Logo

बागमती पेज

बैशाख ४, २०८० सोमबार

प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बन्दै चर्नावती त्रिवेणी धाम


काठमाडौँ । दोलखा जिल्लाको शैलुङ गाउँपालिका वडा नं ७ मा पर्ने चर्नावती त्रिवेणी धाम प्राचीन, ऐतिहासिक तथा पौराणिक स्थल हो । त्रेता युगमा राम सीता बनवासको समयमा चार्नवती धाम पनि आएको किंवदन्ती छ । चर्नावती धामलाई कासी गया र देवघाट भन्दा पवित्र स्थलको रुपमा मानिन्छ ।

चर्नावती त्रिवेणी धाम दोलखाको महत्वपुर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । तर विगत लामो समय यस चर्नावती त्रिवेणी धाम प्रचार-प्रसारको अभावले ओझेलमा परेको छ  ।

पछिल्लो समय यस ठाउँलाई विकास तथा प्रवर्द्धन गर्नका लागि सम्वन्धित निकायको चासो बढेको छ । चर्नावती त्रिवेणी विकास तथा प्रवर्द्धनसंघ दोलखाले नयाँ वर्षको अवसरमा धामको विषयलाई केन्द्रित गर्दे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा शुभकामना आदानप्रदान गर्दे यस चर्नावती धामलाई तीर्थाटन क्षेत्रको रुपमा संरक्षण तथा प्रवर्द्धनका गर्न यही जेठ ७ देखी १५ गतेसम्म बृहत श्रीदेवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको जनाइएको हो ।

यस चर्नावती धाममा भगवान रामले वनवासको समयमा दिबगंत भएका पिताको श्राद्ध गरेको किंवदन्त रहेको संस्कृतिविद्को भनाई छ । चर्नावती धाममा दिबागंत भएका पित्रीहरुको श्राद्ध गर्दा सिधै पित्रीले पाउने जनविश्वास छ । यस विषयलाई लिएर पुराणमा समेत उल्लेख गरिएको छ ।

यस धाम स्थित चर्नावती समुदायीक बनको ४० रोपनी खाली जग्गामा ३ करोड रुपैयाँ बराबरको ज्येष्ठ नागरिक सेवा केन्द्र सहित अन्य संरचनाहरु निर्माण भईरहेको चर्नावती त्रिवेणी धाम तथा प्रवर्द्धन संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार केन्द्र नयाँ आर्थिक वर्षमा सञ्चालनमा आउनेछ । ज्येष्ठ नागरिक केन्द्रमा ४८ जनासम्म ज्येष्ठ नागरिक बस्न मिल्ने उनको भनाई छ ।

हाल चर्नावती त्रिवेणी धाम पर्यटकको पर्खाइमा छ । पर्यटकीय गन्तव्य भएपनि हालसम्म पर्यटकको चहलपहल छैन । हाल पर्यटकको चहलपहल बढाउनका लागि विभिन्न निकायहरुले प्रचार प्रसार तथा विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाएको शैलुङ गाउँपालिका पुर्व अध्यक्ष भरत प्रसाद दुलालले बागमती पेजलाई जानकारी दिए ।

दोलखाको प्रसिद्ध धार्मिक स्थल यत्तिकै ओजेलमा परेकाले प्रचार प्रसार र प्रवर्द्धनको खाँचो रहेकाले यस कार्यमा सबैले सहयोग गर्नुपर्ने उनको भनाई छ ।