Logo

बागमती पेज

बैशाख ७, २०८० बिहीबार

अनाथालय माहांकाल सडक निर्माणमा चरम लापरबाही


काठमाडौँ । भीमेश्वर नगरपालिका वडा नं ५ स्थित अनाथालय माहांकाल सडकको नाला बनाउने क्रममा चरम लापरबाही भएको छ । ओम बुद्ध कन्स्ट्रक्सनले तीन महिना अगाडी सुरु गरेको सडकको नाला बनाउने काममा लापरबाही गरेको पाइएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

ठेकेदारले मापदण्ड विपरीत र कमसल सामाग्री प्रयोग गरेर जनताको आँखामा छारो हाल्ने काम गरेको स्थानीयले बताएका छन् । स्थानीय मनिस बस्नेतका अनुसार गौरीशङ्कर बालगृहबाट सुरु भएर माहांकाल मन्दिरमा जोडिने सडक खण्ड भित्र पर्ने गहते सामुदायिक बन क्षेत्र लगायत विविध ठाउँमा कमसल सामाग्री प्रयोग भएको र आवश्यक पर्ने सामग्रीको प्रयोग नभएको पाइएको हो ।

बस्नेतले भने, ‘नालामा बिछ्याएको एउटै रड तान्दै ढलान भएको छ । जसका कारण अगाडी भएका ढलान समेत भत्किसकेका छन् । जनतालाई देखाउनका लागि मात्र रड राखिएको छ । हामीले प्रमाण सहित देखाउन सक्छौँ ।’

त्यस्तै स्थानीय प्रकाश बस्नेत भन्छन्, राज्यको सम्पत्ति माथि चरम दुरुपयोग भएको छ । यसमा स्थानीय सरकारको पनि कमजोरी देखिएको छ । हामीले तिरेको करको कत्ति पनि कदर भएन । जनप्रतिनिधि आफ्ना दुई चार कार्यकर्ता रिझाउन धार्मिक आस्थाको धरोहर पुग्ने बाटोमा अनियमितता भइरहँदा मूकदर्शक बनेका छन् । यसले समाजमा कस्तो सन्देश जाला ?

नगरपालिकामा प्राविधिकलाई खबर गर्दा पनि वास्ता नगरेको स्थानीयले बताएका छन् । दिगो हुने गरी थालनी गरिएको काम निर्माणकै समयमा चर्किने, भत्किने, फुट्ने भइकेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

दोलखाको सांस्कृतिक धरोहर माहाङकल मन्दिर पुग्ने सडक अन्तर्गत ठाउँ ठाउँमा निर्माण भई रहेका नालामा लापरबाही भएको स्थानीयले बताएका छन् ।

भीमेश्वर नगरपालिका- ५ का वडाध्यक्ष वासु श्रेष्ठले यस विषयमा आफू जानकार नभएको बताएका छन् । केही समय कार्यक्षेत्र भन्दा बाहिर भएका कारण तथ्य बुझेर समस्याको समाधान गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।