Logo

बागमती पेज

बैशाख ७, २०८० बिहीबार

भेरी नदीको बेलिब्रिज भाँच्चिदा ९ जना घाइते


सुर्खेत । जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनामा परेका अधिकांश त्यहाँ कार्यरत मजदुरहरू रहेको बुझिएको छ । रुकुम पश्चिम प्रहरीका अनुसार घाइते नौ जना नै मजदुरहरू हुन् । त्यसमा केहीको अवस्था चिन्ताजनक रहेको र केहीको मृत्यु भइसकेको अनुमान प्रहरीको छ ।

उक्त बेलिब्रिजले भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोट जोड्दछ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार घाइतेको उपचारका लागि नेपालगन्ज लैजान हेलिकप्टोरबाट खोजी भइरहेको छ । ‘बेलिब्रिज बनाइने क्रममै भाँचिएको हो, घाइते सबै त्यहाँका कामदारहरू हुन्,’ उनले भने,‘केही घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लिने प्रयास भइरहेको छ ।’

उनका अनुसार घाइतेहरूको पहिचान खुल्न सकिरहेको छैन । घाइते बोल्न सक्ने अवस्थामा नरहेको र केही भारतीय कामदारहरू समेत रहेको उनको भनाइ छ ।