Logo

बागमती पेज

बैशाख ११, २०८० सोमबार

तनहुँ-१ मा ५ हजार मत गन्दा स्वर्णिम वाग्ले दोब्बर बढी मतले अगाडि


काठमाडौं । तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सोमबार बिहान ४ बजेसम्मको नतिजा प्राप्त भएको छ।


अहिलेसम्म ५०१० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बरभन्दा बढी मतले अग्रता हासिल गरिरहेका छन्। उनले २७६७ मत पाएका छन्।

उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२८५ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले ८२० मत ल्याएका छन्।

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।

तनहुँ-१ मा अहिलेसम्म भानु नगरपालिका-८ र १० तथा आँबुखैरेनी गाउँपालिका-१ गरी तीनवटा वडाको मत गणना गरिएको छ।

भानु-१० मा १७५८ मत गन्दा वाग्लेले ८४६, भट्टराईले ५५१ र खनालले ३२९ मत पाएका छन्। त्यस्तै, भानु- ८ मा १७९४ मत गन्दा वाग्लेले ८५६, भट्टराईले ५४८ र खनालले ४३७ मत ल्याएका छन्।

आँबुखैरेनी-१ मा १४५८ मत गन्दा वाग्लेले १०६५, भट्टराईले २७६ र खनालले ५४ मत पाएका छन्।
तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनालबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति बनेपछि रिक्त तनहुँ-१ मा उपनिर्वाचन भएको हो।