Logo

मेघनाथ पहाडी

बैशाख १८, २०८० सोमबार

प्रोल्लास सिन्धुलीयको ‘भग्न भैरव’ उपन्यास लोकार्पण


काठमाडौँ । कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न भैरव काठमाडौँस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरिएको हो ।

उपन्यासमा अर्यालको जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको छ । आफू रोएर पनि अरुलाई हसाउन सक्ने स्वभावका भैरव अर्यालको वास्तविक घटनामा आधारित रही पुस्तक लेखिएको लेखक सिन्धुलीयको भनाइ छ ।

कार्यक्रममा पत्रकार रोचक घिमिरेले हास्यव्यङ्ग्य क्षेत्रमा भैरव अर्यालको अतुलनीय योगदान रहेको बताए । भैरव आर्यालले हास्यव्यङ्ग्य क्षेत्रमा लेख्नुभएका लेखमार्फत नेपाली साहित्य जगतले ठूलो फड्को मारेको उनको भनाइ छ ।

भैरव अर्यालसँग निकट सम्बन्ध भएका कारण पत्रकार घिमिरेले आफू यो स्थान सम्म पुग्न सहयोग मिलेको बताए । भैरव अर्याल र रमेश विकलका लेखमार्फत साहित्य क्षेत्रमा आफ्नो रुचि बढेको उनको भनाइ छ । भैरव अर्यालसँगको पहिलो भेटबाटै एक अर्का प्रति आकर्षित भएका कारण पनि साहित्य क्षेत्रमा केही सहजता पाएको उनले स्मरण गरे ।

कवियत्री ज्योती जंगलले आफूले प्रत्यक्ष देख्न भेट्न नपाए पनि पुस्तकमार्फत उनलाई नियाल्दा सकारात्मक धारणा पाएको बताए । पुस्तकमा उपन्यासको भाषिक लय लवज बाह्य आचरण पनि सुन्दर रहेको र पुस्तक नाट्य शैलिमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ । साहित्यकार नारायण ढकालले आफू भैरव अर्यालका छिमेकी रहेको भन्दै उनीसँग प्रभावित भइ नयाँ कुरा सिक्ने अवसर पाएको बताए ।

पुस्तकमा भैरव अर्याल जीवनीका ७० वटा घटनाक्रम प्रस्तुत गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयले आफूले गर्दै आएका काम कर्तव्य र अधिकारलाई चटक्कै छाडेर ३५ दिनसम्म ०७५ साल असोज २४ घटस्थापनदेखि कार्तिक २७ गते छठपर्वसम्म अर्यालले आत्मोत्सर्ग गरेको स्थल काठमाडौँको गोकर्ण बाग्मती नजिकै गुप्तबासमा रहेको स्मरण गरेका थिए । आफूले भैरव अर्याललाई प्रत्यक्ष देख्न–भेट्न नपाएपनि प्रत्यक्ष भेट भएको अनुभुति दिलाएको बताए । हृदयलाई नढाँटी भन्दा भैरव अर्याल भनेका मैले देखे–भेटे–भोगे–सङ्गत गरेकै मान्छे हुन् जस्तो लाग्न थालेको पुस्तकमा उल्लेख गरेका छन् ।

उहाँलाई नजिकबाट बुझ्दा, उहाँका समग्र विषयवस्तुलाई महसुस गर्दा विभिन्न कुरामा अनुसन्धान गरेर अनुभव गर्दा जीवन केही होईन जस्तो सम्म महसुस गरेको अनुभव रहेको समेत बताए ।

लेखक सिन्धुलीयले भग्न भैरव पुस्तक लेखनका क्रममा साहित्यीक पत्रकार रोचक घिमिरेको भुमिका महत्वपूर्ण रहेको जनाए । उहाँले भैरव अर्यालसँग बिताउनुभएका कतिपय घटनाक्रम, काथावस्तु, प्रसङ्ग, लगायत अन्य–अन्य धेरैकुराहरुमा उहाँको प्रत्यक्ष सहभागिता र उल्लेखिय सहयोग रहेको समेत प्रष्ट्याएका थिए ।