Logo

मेघनाथ पहाडी

बैशाख २०, २०८० बुधबार

प्रेस स्वतन्त्रताको पक्षमा काम गर्न प्रतिबद्ध छु : कानुन मन्त्री श्रेष्ठ


काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगाानारायण श्रेष्ठले प्रेस स्वतन्त्रताको पक्षमा काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । नेपालको संविधान २०७२ को मर्म र भावना र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उद्देश्य अनुरूप प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितका लागि आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सरकारका तर्फबाट सम्पूर्ण सञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैमा शुभकामना दिँदै मन्त्री श्रेष्ठले पत्रकारको हक हित र आवश्यक कानुन निर्माणका लागि पनि मन्त्रालयबाट गर्नुपर्ने काम गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।

बागमती प्रदेश सरकार पत्रकारितालाई स्वनियमनमा लैजान प्रोत्साहित गर्न चाहन्छ, नियन्त्रण होइन मन्त्री श्रेष्ठले भने- “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राण हो । एक सय चार बर्से राणा शासन, तीस वर्षीय निरङ्कुश पञ्चायत, राजाको प्रत्यक्ष शासन भोगेका तपाई हामीले अभिव्यक्ति स्वतन्त्रताको महत्त्व राम्रैसँग बुझेका छौ । स्वतन्त्रताको उपभोग गर्दा अरूको आत्मसम्मानलाई ख्याल गर्दै स्वतन्त्रता अराजकता होइन भन्ने मान्यतामा हामी विश्वस्त छौ ।”

नेपालको इतिहासमा पहिलो पटक बागमती प्रदेशले बनाएको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ बमोजिम प्रदेशमा सञ्चार रजिस्ट्रारको कार्यालय स्थापना भई सञ्चार माध्यम र पत्रकारको हित प्रवर्द्धन हुने गरी कार्यक्रम सञ्चालन भइरहेका समेत जनाएका थिए ।

श्रमजीवी पत्रकारको क्षमता विकास गर्न, सीप विकासका कार्यक्रम सञ्चालनलाई प्राथमिकताका साथ अगाडि बढाउने बागमती प्रदेश सरकारको नीति रहेको समेत उनले जनाए ।

‘भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नाराका साथ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संसारभरका नागरिकले आज प्रेस स्वतन्त्रता दिवस मनाइरहेका छन् । संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन १९९३ मा घोषणा गरेपछि हरेक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै आइएको छ ।