Logo

बागमती पेज

जेष्ठ ११, २०८० बिहीबार

माफीका लागि चौधरीको निवेदन राष्ट्रपति कार्यालयमा


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा फाइल पुगेको छ । २०७२ भदौमा कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो ।

त्यसका लागि बुधबार राष्ट्रपति कार्यालयको कानुन साखमा चौधरीको सजाय माफी सम्बन्धी २० वटा फाइल पुगेको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताए ।

उनले भने, ‘रेशम चौधरीजीको माफीको निम्ति राष्ट्रपति कार्यालयमा हिजो अबेर फाइलहरू आएको छ भनेर मलाई कानुनको सहसचिवज्यूले जानकारी गराउनु भएको थियो ।’

चौधरीको माफीका लागि धेरै ठूलो फाइल भएकाले बुधबार राष्ट्रपति पौडेल समक्ष जाहेर भइनसकेको कुँवरले बताए । ‘पक्रिया पुगेको छ कि छैन त्यसलाई अध्ययन गर्नुस् । प्रक्रिया पुर्‍याएर सम्माननीय राष्ट्रपतिज्यू कहाँ जाहेर गर्नुस् भनेर भनेको छु,’ कुँवरले भने ,‘२० वटा फाइल छ रे । हिजो साढे २ बजे फाइल आएकाले आज सार्वजनिक बिदा हुँदा अध्ययन गर्न बाँकी छ ।’