Logo

बागमती पेज

जेष्ठ १४, २०८० आईतबार

नुवाकोटे टाइगरले हात पारे रेस्लिङको उपाधी


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘दोस्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्तको उपाधि नुवाकोटे टाइगरले जितेका छन् ।

७२ औं मदन स्मृति तथा मदन जयन्तीको सन्दर्भमा ‘सबैका लागि खेलाकुद’ भन्ने नारासाथ मदन भण्डारी रिङ रेस्लिङ विभागले आयोजना गरेको प्रतियोगितामा हेभीवेटतर्फ नुवाकोटे टाइगरले उपाधि जितेका हुन् । उनले जितसँगै नगद रु १ लाख ५ हजार हातपार्न सफल भएका छन् ।

खुल्लामञ्च घन्टाघरमा उल्लेख्य दर्शकबीच भएको भिडन्तमा नुवाकोटे टाइगरले किङ रोबर्टलाई पराजित गरेका थिए । हार्डकोरतर्फको एक अर्को खेलमा चट्टान बिजयी भए । उनले साइनविरुद्धको भिडन्त जित्दै ७५ हजार हात पारे ।

मिडलवेटतर्फ साइनले डेभिडलाई हराए । उनले ७० हजार जिते । महिलातर्फ लाइटवेट भिडन्तमा तन्नुले आकृतिलाई हराइन् । उनले ६० हजार हात पारिन् ।

पुरुष लाइटवेटतर्फ सिजे वर्ल्ड विजयी भए । उनले कम्ब्याट कर्मालाई पराजित गरी ४० हजार प्राप्त गरे भने ट्याग टिमतर्फको भिडन्तमा एक्स हिरो एन्ड सुजल टिम बिजयी बन्यो । भिडन्तमा टुपी ग्याङ पराजित भयो । एक्स हिरो एन्ड सुजल टिमले ५० हजार हात पार्न सफल भए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा विजेतालाई नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, मदन भण्डारी फाउन्डेशनका केन्द्रीय सदस्य टीका विष्ट, प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव विश्वमित्र सञ्ज्याल, एकेडमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, सचिव सञ्जु महर्जन लगायतले पुरस्कार वितरण गरेका थिए ।