Logo

बागमती पेज

जेष्ठ १६, २०८० मंगलबार

सगरमाथा आरोही मगरलाई माओवादीको सम्मान


काठमाडौं । दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल रोल्पाका हरि बुढामगरलाई नेकपा माओवादी केन्द्रले सम्मान गरेको छ ।

मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बुढामगरलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन् ।

महराले अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्व शान्तिको अभियान सुरु गर्ने योजनामा रहेका बुढामगरलाई पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

‘उहाँहरु एउटा ठूलो शान्तिको मिशनमा हुनुहुन्छ । अपांग भएका व्यक्तिहरु खोजेर एउटा टिम बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेड्न चाहनु हुन्छ । त्यसको निमित्त हाम्रो तर्फबाट, हाम्रो पार्टीको तर्फबाट म आफैं पनि माओवादी जनयुद्धबाट शान्ति प्रक्रियाको मिशनमा लागेका व्यक्तिको हैसियतले सहयोग गर्न तयार छु,’ महराले भने ।

कार्यक्रममा बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको जानकारी दिए । अपांगता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि अवसर र मौका दिन उनले आग्रहसमेत गरे ।

बेलायती सेनामा कार्यरत अफगानिस्तानमा खटिएको बेला विद्रोहीको एम्बुसमा परेर दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।