Logo

बागमती पेज

जेष्ठ २६, २०८० शुक्रबार

घामबाट आउने बित्तिकै चिसो नखानु जाति


काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा गर्मीले उकालो चढिरहेको छ । गर्मीको समयमा प्राय सबैलाई चिसो पिए पदार्थ मन पर्छ । कसैलाई फलफूलको जुस त कसैलाई फ्रिजमा राखेको खानेकुरा तर के यस्ता चिसो पिए पदार्थ हाम्रो शरीरका लागि उपयोगी हुन्छन् त ? चिसो पिए पदार्थले प्रत्यक्ष रूपमा नगरे पनि अप्रत्यक्ष रूपमा हाम्रो शरीरलाई असर गरिरहेको हुन्छ । 

घामबाट आउने बित्तिकै फ्रिजमा भएको चिसो पानी, जुस, सर्बत सबैको रोजाइमा पर्छ । अझ घाममै हिंडडुल गर्दा लस्सी र आइसक्रिम पनि खाइने गरिन्छ । पानी तातो भएमा बरफ मिसाएर खाइन्छ । यसरी धापिएको समयमा अत्यधिक चिसो खानु भनेको शरीरको तापक्रमलाई दखल दिनु हो । एक्कासि चिसो पदार्थ पिउँदा शरीरमा तापक्रम असन्तुलन हुन्छ, जसले थप ऊर्जा शरीरलाई आवश्यक पर्छ ।

शरीरले आफू अनुकूल शरीरभित्र प्रवेश गरेको खानेकुरालाई ढाल्न खोज्दा पाचनप्रक्रिया सुस्त हुन्छ । जसले पेटमा गडबड गराउँछ । त्यसैले घामबाट धापिएर आएपछि शरीरलाई एकछिन शीतल बनाएर मात्र खानेकुरा खान सकिन्छ । तसर्थ, आइसक्रिम, कुल्फी, बरफ अत्यधिक खानु घाँटीलाई मात्र होइन दाँतलाई पनि दुःख दिन सक्छ । यसले दाँतको इनामेललाई असर पारी सिरिङ-सिरिङ पार्न सक्छ । चिसो पेय पदार्थमा हुने एसिड एवं गुलियो पदार्थले दाँत दुखाइ पनि गराउँछ ।

अत्यधिक चिसो मात्र होइन, अत्यधिक तातोले पनि खानु हुँदैन । अझ चिसोतातोको मिश्रण त स्वास्थ्यको लागि बेफाइदाजनक नै हुने गर्छ । धेरैको बानी खाजामा तातो मःमः खाएपछि   चिसो पेय खाने हुन्छ । यसरी खाँदा एकै छिन त मज्जा आउँछ । तर केही छिनपछि पेट भने सन्चो नगराउन सक्छ । किनकि चिसो र तातोलाई एक छिनमा पाचन प्रणालीले आफ्नो तापक्रममा ढाल्न सक्दैन । जस कारण पेट ढुस्सा हुने, अमिलो डकार आउनेजस्ता समस्या देखिन्छन् ।