Logo

बागमती पेज

असार १, २०८० शुक्रबार

नयाँ खिम्ती सबस्टेशन सञ्चालन, रामेछाप र दोलखाको विद्युत समस्या समाधान हुने


काठमाडौँ । दोलखाको तीन वटा पालिका र रामेछापको पुरै क्षेत्रमा नयाँ खिम्ती सबस्टेशनबाट विद्युत जडान गरिएको छ ।

रामेछापको मन्थली नगरपालिका–१३ पुलासिस्थित नयाँ खिम्तीमा १३२ केभीको सबस्टेशन सञ्चालनमा आएसँगै दोलखाको जिरी नगरपालिका, वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिका तथा रामेछापका पुरै स्थानका यो सबस्टेशनबाट विद्युत जडान गरिएको हो । यसअघि यी स्थानमा लामोसाँघु सबस्टेशनबाट विद्युत आपुर्ति हुँदै आएको थियो ।

सिन्धुलीको सुनकोशी, फिक्कल र गोलञ्जोर गाउँपालिका अन्र्तगतका क्षेत्रमा समेत नयाँ खिम्ति सबस्टेशनबाट विद्युत आपुर्ति गर्ने तयारी छ । फुलासीमा सबस्टेसन निर्माण गरिएको १३२/३३/११ केभीको सबस्टेशसन पूर्वाधार सञ्चालनमा आएको छ । नयाँ खिम्ती १३२ केभी प्रसारण लाईन आयोजना अन्र्तगत स्थानीय रुपमा विद्युत आपुर्तिका लागि निर्माण गरिएको सबस्टेशन विहिबारबाट सञ्चालनमा आएको हो । सबस्टेशनमा ३० एमभिए क्षमताका २ वटा र ३३/११ केभी,६र८ एभिए क्षमताको १ वटा पावर ट्रान्सफर्मरहरु राखिएका छन् । नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेशन पूर्वाधार निर्माण २०७६/७७ देखि सुरु भएको थियो ।

नेपाल सरकार र प्राधिकरणको करिव ८० करोड लगानीमा सबस्टेशन निर्माण गरिएको हो । स्थानीय रुपमा विद्युत आपुर्तिका लागि सबस्टेशनबाट ३३ केभीका ५ वटा र ११ केभीका तीन वटा फिडर लाइनहरु निकालिएको छ । ३३ केभीका फिडरहरुलाई चार्ज गरी रामेछापको मन्थली, दोरम्बा र दोलखाको तीन वटा पालिकामा विद्युत आपुर्गि सुरु गरिएको हो । ११ केभीको एउटा फिडरलाइन मार्फत खिम्ती ग्रामीण विद्युत सहकारीलाई आपुर्ति दिईनेछ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेशन निर्माण गरेको थियो ।

तर, सबस्टेशनमा स्थानीय रुपमा विद्युत आपुर्तिका लागि कुनै व्यवस्था नभएपछि नेपाल विद्युत प्राधिकरणले १३२/३३/११ केभीको सबस्टेशन पुर्वाधार बनाएको हो । १३२/३३ केभीको पूर्वाधार तयार भएपछि नयाँ खिम्ती सबस्टेशनबाट स्थानीय रुपमा विद्युत आपुर्ति सुरु भएको छ । नयाँ खिम्ती सबस्टेशनमा माथिल्लो तामाकोशी सहित खिम्ती र लिखु नदी करिडोरका जलविद्युत आयोजनाहरुको विद्युत जोडिएको छ ।