Logo

बागमती पेज

असार २९, २०८० शुक्रबार

मालिकको ५ करोडको सामान चोरेर नेपाली सुरक्षाकर्मी फरार


भारतका एक व्यापारीको ५ करोड मूल्य बराबरको सामान चोरेर नेपाली सुरक्षाकर्मी फरार भएका छन् ।

भारतको सेकुन्देराबादस्थित रामगोपालपेटका बासिन्दा राहुल गोयलले कमल नामका नेपालीलाई सुरक्षाकर्मीको रूपमा आफ्नो घरमा काम दिएका थिए । कमल र उनको पूरा परिवार राहुलको बङ्गलामै रहेको सर्भेन्ट क्वार्टरमा बस्थे ।

आइतबार बिहान राहुल र उनका परिवार एउटा पारिवारिक कार्यक्रमका लागि सहर बाहिरको उनीहरूको फार्म हाउसमा गएका थिए । यो परिवार बुधवार बेलुका मात्रै घर फर्कियो । घर आउँदा उनीहरुले सुरक्षाकर्मी र उनको परिवार कसैलाई पनि देखेनन् ।

‘राहुल घरभित्र जाँदा बेडरुमको कपबोर्ड भित्रका सामान चोरी भएको पाए । उनको दाबी अनुसार ४९ लाख नगद, चार केजी सुन, १० केजी चाँदी चोरी भएको छ । मुख्य सन्दिग्ध ती सुरक्षाकर्मी र उनको परिवार हो,’ स्टेसन आवर अफिसर जी लिङ्गेश्वर रावले भने ।

प्रहरीले कमल र उनको परिवारलाई पक्राउ गर्न विशेष दल गठन गरेको छ । ‘घटनामा कमल नै संलग्न हुन् वा अरू व्यक्ति भनेर पनि अनुसन्धान भइरहेको छ । त्यसैले हामीले उनीहरूको खोजी कार्य सुरु गरेका छौँ,’ प्रहरी अधिकारी रावले भने ।

प्रहरीका अनुसार कमलका केही आफन्तलाई मुम्बईमा पक्राउ गरिएको छ । एजेन्सी